नवराज भुर्तेल, काभ्रेपलान्चोक ।
नेपालको राजनीतिक इतिहास हेर्दा संगठन, विचार, नेतृत्व र जनविश्वासको सम्बन्ध अत्यन्त गहिरो रहेको पाइन्छ। कुनै पनि राजनीतिक दलको शक्ति केवल उसका शीर्ष नेताहरूमा सीमित हुँदैन, त्यसको वास्तविक शक्ति सदस्यहरू, कार्यकर्ताहरू र तिनको वैचारिक निष्ठामा आधारित हुन्छ। पार्टी सदस्यता केवल एउटा कार्ड वा अभिलेख होइन, त्यो विचारप्रतिको प्रतिबद्धता, संगठनप्रतिको जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्वको राजनीतिक करार हो । तर पछिल्लो समय परिवर्तनका लागि महत्वपूर्ण भूमिका रहेका नेपाली राजनीतिक दलहरूमा सदस्यताको गुणात्मक पक्षभन्दा संख्यात्मक प्रदर्शन, कृत्रिम संगठन विस्तार, नक्कली सदस्यता वितरण, अवसरवादी गठजोड र व्यक्तिकेन्द्रित शक्ति संरचनाले संगठनात्मक जीवनलाई गम्भीर संकटतर्फ धकेलिरहेको देखिन्छ।
राजनीतिक दलको जीवनमा सदस्यता किन आवश्यक छ भन्ने प्रश्नको उत्तर संगठनात्मक संरचनाबाट सुरु हुन्छ। अनुशासित सदस्यविना पार्टी केवल भीड मात्रै हुन्छ । सदस्यताले मात्रै त्यसलाई विचार, अनुशासन र लक्ष्य भएको संगठन बनाउँछ। सदस्यता राजनीतिक चेतनाको औपचारिक अभिव्यक्ति हो । यसले सदस्यलाई अधिकार मात्र होइन, कर्तव्य पनि प्रदान गर्छ । कुनै पनि दलले आफ्नो नीति, कार्यक्रम र जनपक्षीय एजेन्डालाई समाजमा प्रभावकारी बनाउन सदस्यहरूको सक्रियता र प्रतिबद्धता आवश्यक पर्छ । सदस्यताले नेतृत्व र जनताको बीचमा वैचारिक पुलको काम गर्छ । जब सदस्यहरूले पार्टीप्रति विश्वास गर्छन्, त्यतिबेला संगठन बलियो बन्छ, जब सदस्यहरूको विश्वास कमजोर हुन्छ, संगठन बाहिरबाट होइन, भित्रैबाट अर्थात जनमतबाट विघटन हुन थाल्छ।
जन विश्वास संगठनको आत्मा हो। पार्टीप्रति सदस्यको विश्वास विचार, व्यवहार र नेतृत्वको नैतिकताबाट निर्माण हुन्छ । यदि नेतृत्वले समानता, लोकतन्त्र र सामूहिकताको कुरा गर्छ तर व्यवहारमा स्ववाद, गुटवाद र म पूजा वा मेरो व्यक्तिपूजा अपनाउँछ भने सदस्यहरूको विश्वास क्रमशः क्षय हुन थाल्छ । यही संकट अहिले धेरै राजनीतिक दलहरूमा देखिएको छ । सदस्यहरूलाई वैचारिक कार्यकर्ता भन्दा पार्टिको आन्तरीक चुनाव (अधिवेशन) केन्द्रित भीडको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ । आन्तरीक(अधिवेशन) निर्वाचनको समयमा मात्र सदस्यता वितरण गर्ने, सक्रिय योगदान नहेरी पहुँचका आधारमा जिम्मेवारी बाँड्ने र संगठनलाई विचारभन्दा भिड शक्ति केन्द्रित बनाउने अभ्यासले सदस्यताको मूल्यलाई कमजोर बनाएको छ ।
नेकपा एमालेको सन्दर्भमा हेर्दा यसको ऐतिहासिक योगदान अस्वीकार गर्न सकिँदैन । जनताको बहुदलीय जनवाद, जनआन्दोलन, लोकतान्त्रिक संघर्ष र सामाजिक रूपान्तरणमा यसको भूमिका महत्वपूर्ण थियो, जनमत मा अग्रणी थियो विचारमा र दृष्टिकोणमा आझ पनि त्यतिकै उम्दा नै छ तर इतिहासको गौरव वर्तमानको ग्यारेन्टी होइन । कुनै पनि संगठन वा पार्टि समयानुकूल कमजोरीहरुको आत्मसमीक्षा गर्न असफल हुन्छ भने त्यो क्रमशः जड, आत्ममुग्ध र प्रतिक्रियावादी बन्दै जान्छ । पछिल्लो समय एमालेभित्र देखिएको असान्दर्भिक सामन्तवादी सोच र निरंकुश प्रवृत्ति तथा नेतृत्व वा पद केन्द्रित, पद देखी पद सम्म का आधारमा बन्ने धारणा र स्वतन्त्रता का नाममा समाजिक संजाल र सार्वजानिक मिडियामा स्वकेन्द्रित कर्कसपूर्ण अभिव्यक्तिले ले सृजन गर्ररहेको दिगभ्रमित बिचारका कारण गम्भिर प्रश्न उठाएको छ ।
समाजवादको आधारभूत दर्शन समानता, सामूहिक नेतृत्व र वर्गीय चेतनामा आधारित हुन्छ । तर जब नेतृत्व केही व्यक्तिमा केन्द्रित हुन थाल्छ, आलोचनाका नाममा असहिष्णु व्यवहार गरिन्छ, निर्णय प्रक्रियामा सामूहिकताको स्थान घट्छ र तल्लो तहका कमिटीहरू केवल आदेश पालना गर्ने संयन्त्रमा सीमित हुन्छन्, त्यतिबेला संगठनको समाजवादी चरित्र कमजोर हुन्छ । अजको परिस्थितिमा एमालेभित्र पनि यही प्रवृत्ति देखिएको आलोचना हुँदै आएको छ । पार्टीका निर्णयहरूमा कमिटिगत छलफलभन्दा व्यक्तिको इच्छा निर्णायक बन्ने, फरक मतको नाममा गुटको अभ्यास गर्ने, आलोचनात्मक आवाज हैन इगो(इर्स्यापूर्ण) चिन्तन को मनोरोग र शत्रुता पूर्ण ब्यवाहार देखाउने तथा नेतृत्वप्रति अन्धभक्ति अपेक्षा गर्ने प्रवृत्तिले लोकतान्त्रिक संगठनात्मक संस्कृतिलाई क्षति पुर्याएको छ ।
संगठनभित्र अनुशासन आवश्यक हुन्छ, तर अनुशासनको अर्थ निरंकुश मौनता होइन । वास्तविक अनुशासन विचार, नीति र सामूहिक निर्णयप्रतिको प्रतिबद्धता हो । यदि अनुशासनलाई केवल नेतृत्वको आदेश मान्ने संस्कृतिमा सीमित गरिन्छ भने त्यो लोकतान्त्रिक केन्द्रीयताको होइन, निरंकुश नियन्त्रणको रूप हो । आज धेरै कार्यकर्तामा विचार राख्ने अवसर गुम्ने पुरातनहरुले मात्र फोरम कब्जा गर्नु र समय सापेक्ष अभिब्यक्ति दिगभ्रमित देखिनु स्वस्थ संगठनात्मक संकेत होइन । पार्टि जीवनमा खुला बहस, आलोचना आत्मालोचना र वैचारिक विमर्श हराउँदै जाँदा संगठन बाह्य रूपमा विशाल देखिए पनि आन्तरिक रूपमा कमजोर बन्छ ।
यही सन्दर्भमा “कृत्रिम संगठन” र “नक्कली सदस्यता” को प्रश्न अत्यन्त गम्भीर बनेको छ । संगठन विस्तारको नाममा वास्तविक राजनीतिक चेतनाभन्दा संख्या बढाउने प्रतिस्पर्धा चलिरहेको छ । अधिकामंस पार्टिहरुमा सदस्यता वितरण वैचारिक प्रशिक्षण र सक्रियताको मूल्यांकनका आधारमा नभई शक्ति सन्तुलन मिलाउने औजार बनेको छ । आन्तरीक चुनाव(अधिवेशन) निर्वाचनका बेला हजारौं सदस्य थपिएको घोषणा गरिन्छ, तर तिनको राजनीतिक भूमिका, संगठनात्मक सक्रियता वा वैचारिक प्रतिबद्धता अस्पष्ट हुन्छ। यस्तो सदस्यता केवल तथ्यांक हो, संगठन होइन ।
कृत्रिम संगठनको अर्को खतरा भनेको नेतृत्वलाई झुटो आत्मविश्वास दिनु हो । जब वास्तविक जनआधार घट्दै जान्छ तर कागजी सदस्यता बढाइन्छ, नेतृत्वले समाजको वास्तविक मनोविज्ञान बुझ्न सक्दैन । परिणामस्वरूप पार्टी जनताबाट क्रमशः टाढिन्छ । संगठनको जरा कमजोर हुँदै जान्छ र बाह्य रूपमा बलियो देखिए पनि आन्तरिक रूपमा खोक्रो बन्छ । इतिहासले देखाएको छ कागजी शक्ति दीर्घकालीन हुँदैन । जनविश्वास बिना संगठन टिक्दैन। जुन अहिले भोगिनै रहेको छ ।
खुला समाजको अवधारणा र छाडा पन अर्थात तथ्य गत सुचना सम्प्रेसण हैन भ्रमगत नकारत्मक सोचले राजनीतिक दलहरूलाई नयाँ चुनौती दिएको छ । सूचना प्रविधि, सामाजिक सञ्जाल, वैकल्पिक राजनीतिक सक्तिको आवरणमा योजनाबद्ध अराजकतावादी कथित स्वतन्त्रताको विस्तारले मानिसहरूलाई परम्परागत संगठनात्मक नियन्त्रणभन्दा बाहिर ल्याइरहेको छ । आजको पुस्ता केवल आदेश पालना गर्ने कार्यकर्ता बन्न चाहँदैन, उसले पारदर्शिता, जवाफदेहिता र सहभागिता खोज्छ भन्ने नाममा संगठनात्मक अराजकता ले आलोचनात्मक चेत परिवर्तनको कसिको रुपमा टाढिएको यथार्थ उजागर छ । अर्को तर्फ दलहरूले पुरानै आदेशमुखी संरचना कायम राख्ने अभ्यास कायम राखिनै राख्ने हो भने नयाँ पुस्ता असंगठित स्वतन्त्र शक्तितर्फ आकर्षित हुन्छ । असंगठित शक्तिको विजय भन्नाले केवल नयॅाको नाममा आएका उम्मेदवारहरूको सफलता मात्र होइन; त्यो परम्परागत संगठनप्रतिको निराशाको अभिव्यक्ति पनि हो। जब स्थापित दलहरूभित्र अवसरवाद, भ्रष्टाचार, गुटीय स्वार्थ र विचारहीन सत्ता राजनीति हावी हुन्छ, तब समाजले वैकल्पिक शक्ति खोज्न थाल्छ। नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा पनि यही प्रवृत्ति देखिएको छ । जनताले संगठनभन्दा पात्र, विचारभन्दा व्यवहार र नाराभन्दा परिणाम खोज्न थालेका छन् । यो परिवर्तनलाई केवल “भावनात्मक लहर” भनेर अस्वीकार गर्नु राजनीतिक भूल हुनेछ ।
एमालेभित्र देखिएको अलोकप्रियवादी सोचको अर्को रूप नेतृत्वपूजा हो । कुनै पनि दलमा नेतृत्व आवश्यक हुन्छ, तर नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने संस्कृति लोकतान्त्रिक होइन । जब पार्टीभित्र व्यक्तिको आलोचना गर्न नपाइने वातावरण बन्छ, त्यहाँ वैचारिक विकास रोकिन्छ । समाजवादको नाममा व्यक्तिवादको अभ्यास अन्ततः संगठनात्मक पतनको कारण बन्छ । इतिहासमा धेरै कम्युनिस्ट आन्दोलनहरू यस्तै व्यक्तिकेन्द्रित प्रवृत्तिका कारण कमजोर भएका उदाहरण छन् ।
त्यसैगरी, “चरम अवसरवादी पछ्यौटेपना” पनि आजको प्रमुख चुनौती हो । सिद्धान्त र विचारभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिने, तत्कालीन लाभका लागि दीर्घकालीन मूल्य त्याग्ने, जनताको मुद्दाभन्दा पद र गठबन्धनलाई केन्द्रमा राख्ने प्रवृत्तिले संगठनात्मक नैतिकता कमजोर बनाएको छ । जब कार्यकर्ताले देख्छन् कि संघर्ष गर्नेभन्दा अवसर खोज्नेहरू पुरस्कृत भइरहेका छन्, तब निष्ठा कमजोर हुन्छ र संगठनभित्र निराशा फैलिन्छ । राजनीतिक संगठन केवल चुनाव जित्नका लागि होइन; समाज परिवर्तनको दीर्घकालीन साधन हो । त्यसका लागि सदस्यताको गुणस्तर, वैचारिक प्रशिक्षण, आन्तरिक लोकतन्त्र र जनतासँगको जीवन्त सम्बन्ध अपरिहार्य हुन्छ । यदि पार्टीहरू केवल चुनावी मेसिनमा रूपान्तरण भए भने तिनले ऐतिहासिक भूमिका गुमाउँछन्। एमालेजस्तो ऐतिहासिक पृष्ठभूमि भएको दलले विशेष गरी आत्मसमीक्षा गर्न जरुरी छ । जनताको बहुदलीय जनवादको मर्म सामूहिकता, जनउत्तरदायित्व र लोकतान्त्रिक अभ्यासमा हो, यदि व्यवहार त्यसको विपरीत जान्छ भने सिद्धान्त केवल नारामा सीमित हुन्छ ।
आज आवश्यकता संगठनको पुनर्जागरण आजको अपरिहार्य आवस्यक्ता हो । सदस्यता वितरणलाई राजनीतिक संस्कारसँग जोड्नुपर्छ । प्रत्येक सदस्यलाई वैचारिक शिक्षा, सामाजिक जिम्मेवारी र जनतासँगको प्रत्यक्ष सम्बन्धमा आधारित बनाउनुपर्छ । नेतृत्व चयनमा पारदर्शिता र प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक छ । फरक मतलाई दुश्मनी को जड होइन, सुधारको अवसरका रूपमा स्वीकार गर्ने संस्कृतिको विकास हुनुपर्छ । कमिटी गत जीवनलाई सक्रिय, विचारमुखी र उत्तरदायी बनाउनुपर्छ। संगठनलाई व्यक्ति होइन, नीति र विधिले सञ्चालन गर्ने अभ्यास स्थापित गर्नुपर्छ ।
हामि चाहान्छौ पार्टी सदस्यता केवल संगठनात्मक प्रक्रिया होइन; त्यो राजनीतिक नैतिकताको आधार हो । सदस्यको विश्वास गुमेको संगठन दीर्घकालीन रूपमा टिक्न सक्दैन । कृत्रिम संगठन र नक्कली सदस्यताले केही समय भ्रम सिर्जना गर्न सक्छ, तर जनताको चेतनालाई स्थायी रूपमा धोका दिन सक्दैन। खुला समाजमा जनताले पारदर्शिता, लोकतन्त्र र परिणाम खोजिरहेका छन् । यदि राजनीतिक दलहरूले अझै पनि सामन्तवादी सोच, निरंकुश व्यवहार, व्यक्तिपूजा र अवसरवादी प्रवृत्तिलाई निरन्तरता दिए भने असंगठित वैकल्पिक शक्तिहरूको उदय अझ तीव्र हुनेछ । त्यसैले आजको मुख्य आवश्यकता आत्मसमीक्षा, वैचारिक पुनर्निर्माण र वास्तविक लोकतान्त्रिक संगठनात्मक संस्कृतिको पुनर्स्थापना हुदैन र समाज परिणाम मुखी समनताको बाटोमा हैन अमानवीय आतंकवादको भूमरीमा फस्छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.