२३ साउन २०८२, बिहिवार

समता, समानता र समरसता बीचको सम्बन्ध

रामकृष्ण तिमल्सिना

समाजमा व्यक्तिहरू विविध पृष्ठभूमि, क्षमताहरू, आवश्यकताहरू र अवसरहरू सहित जन्मन्छन्। यस्तो विविधतायुक्त समाजमा न्याय र समावेशीताको सुनिश्चितताका लागि तीनवटा प्रमुख अवधारणाहरू- समानता (equality), समता (equity), र समरसता (samarasata)ले महत्वपूर्ण भूमिका खेल्दछ। यद्यपि यी शब्दहरू एकआपसमा निकट देखिए पनि तिनको दार्शनिक आधार, व्यवहारिक अर्थ, र कार्यान्वयनमा स्पष्ट भिन्नता छ।

समानता (Equality) भन्नाले सबै व्यक्तिलाई समान व्यवहार गर्ने सिद्धान्तलाई जनाउँछ। यसले सबैलाई एउटै किसिमका अधिकार, अवसर, र सेवाहरू दिनुपर्ने विचार राख्छ। कानूनी रूपमा समानता भन्नाले सबै नागरिकहरू कानूनको नजरमा समान हुनु भन्ने अर्थमा लिइन्छ। तर व्यवहारिक रूपमा समान व्यवहारले सधैं न्याय सुनिश्चित गर्दैन। यदि कुनै व्यक्तिको सामाजिक, आर्थिक वा शारीरिक अवस्था अरूभन्दा कमजोर छ भने उसलाई उस्तै उपचार गर्नुले उसलाई अझ पछाडि पार्न सक्छ। यही कारणले आजको न्यायिक सिद्धान्तले केवल "formal equality" मात्र होइन, substantive equality को आवश्यकता औंल्याउँछ।

Substantive equality भन्नाले केवल सबैलाई समान व्यवहार गर्नुमा होइन, तर सबैको वास्तविक जीवन अनुभव, सामाजिक असमानता, ऐतिहासिक विभेद जस्ता पक्षहरूलाई पनि ध्यानमा राखेर परिणाममा समानता ल्याउने प्रयास गर्नु हो। यसले संरचनात्मक विभेदलाई चिन्न र सम्बोधन गर्न खोज्दछ। यही सन्दर्भमा समता (Equity) को अवधारणा आउँछ। समता भन्नाले सबैलाई एउटै होइन, तर प्रत्येक व्यक्तिको अवस्था र आवस्यकता अनुसार आवश्यक सहयोग, साधन वा अवसर प्रदान गरिनुपर्छ भन्ने विचार प्रस्तुत गर्दछ। यो निष्पक्षता (fairness) मा आधारित सिद्धान्त हो र समानता भन्दा गहिरो न्यायको अभ्यास हो।उदाहरणका लागि, एक विद्यालयमा सबै विद्यार्थीलाई एउटै किताब दिइयो भने त्यो समानता हो। तर दृष्टिविहीन विद्यार्थीलाई ब्रेलमा किताब नदिएसम्म त्यो समानता अर्थहीन हुन्छ। यस्तो अवस्थामा उसलाई ब्रेल सामग्री उपलब्ध गराउनु समता हो। यसले देखाउँछ कि समान व्यवहारले मात्र समान अवसर दिंदैन; त्यसका लागि सहायक उपाय र आवश्यक समर्थन आवश्यक पर्छ। यही कुराले equity र substantive equality बीच गहिरो सम्बन्ध प्रकट गर्छ।

यता, समरसता (Samarasata) भन्नाले बाह्य समानता वा न्याय मात्र होइन, आन्तरिक सद्भाव, आत्मीयता, र सह-अस्तित्वमा आधारित सामाजिक ऐक्यवद्धता हो। यसले मानव-मानवबीचको भेदभावलाई केवल कानुनी या नीतिगत ढंगले होइन, संवेदनशीलता र सहानुभूतिका माध्यमबाट हटाउन खोज्दछ। समरसता तब सम्भव हुन्छ जब समाजमा समानता र समता दुबै सुनिश्चित हुन्छन्, र त्यसबाट उत्पन्न हुने विश्वास र सम्मानले सामाजिक सम्बन्धहरूलाई गहिरो बनाउँछ।यसले मानव मानव बीचको सुसम्बन्ध खोज्दछ। कोरा समानता होइन। दार्शनिक रूपमा हेर्दा, समानता र समता पाश्चात्य न्याय सिद्धान्तमा आधारित छन्। विशेषगरी John Rawls को “A Theory of Justice” मा उनले समताको लागि असमान वितरणको अवधारणालाई समर्थन गरेका छन्। उनले भनेका छन् कि जो सबैभन्दा कमजोर छन्, उनीहरूलाई प्राथमिकताका साथ सहायता दिनु न्याय हो। अर्कातर्फ, समरसता पूर्वीय र विशेष गरी नेपालको बैदिक एबम भारतीय दर्शनमा आधारित छ, जसमा “वसुधैव कुटुम्बकम्” अर्थात् सम्पूर्ण संसार एक परिवार हो भन्ने भावनाले प्रेरित गर्दछ।

निष्कर्षमा, समाजमा समावेशिता र न्यायको स्थायी जग बसाल्न चाहने हो भने केवल समानता पर्याप्त छैन। Substantive equality र equity मार्फत व्यवहारिक विभेदहरू हटाउने र समान परिणाम सुनिश्चित गर्ने प्रणाली अवलम्बन गर्नुपर्छ। त्यसपछि मात्रै समरसताको वातावरण विकसित हुन्छ, जहाँ हरेक व्यक्ति सम्मानपूर्वक, स्वतन्त्रतापूर्वक र हार्दिकताका साथ बाँच्न सक्छ ।  तिमल्सिना समावेशी आयोगको पुर्व अध्यक्ष तथा सर्वोच्च अदालतको पुर्व रजिस्ट्रार हुनुहुन्छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.