२५ साउन २०८२, शनिवार

राष्ट्रिय युवासंघको अस्तित्व, विकृति र राजनीतिक पतनको चक्र

नवराज भुर्तेल 

सन्दर्भ : राष्ट्रिय युवा संघ नेपालको काभ्रेपलान्चोक जिल्लाको  अधिवेशन

राजनीतिक आन्दोलन र संगठनात्मक यात्रामा “युवा” भन्ने शब्द केवल उमेरको गणनामा सीमित हुने कुरा होइन, यो शब्दसँग जोश, जागर, क्रान्तिकारी सोच, निष्ठा, दीर्घकालीन प्रतिबद्धता, श्रम र सिर्जनशीलताको गहिरो सम्बन्ध हुन्छ । यस्ता मूल्य र सिद्धान्तले मात्र संगठनलाई जिवन्त, गतिशील र जनमानसमा विश्वासिलो बनाउँछ। तर दुर्भाग्यपूर्ण सत्य के हो भने, पछिल्ला वर्षहरूमा युवा नेतृत्वको नाममा एक उथल–पुथल मानसिकता, अवसरवाद, र राजनीतिक सौदाबाजीमा पारंगत गुटीय संस्कृतिले संगठनको मेरुदण्ड नै कमजोर पारेको छ। नेतृत्‍व लिनुपर्ने युवाहरू नै निजी स्वार्थका दास नेताको निजी दूत वा गुप्तचर पात्र का रूपमा सीमित हुने प्रवृत्ति बढिरहेको छ। युवासंघको नाममा असामाजिक गतिविधिको माटो तयार गर्ने,मतियार र दलाल प्रवृत्तिको संरक्षण गर्ने, बेरोजगारीहरुको भीड बनाएर हुलदंगा र व्यक्तिगत प्रतिष्ठा प्रदर्शनमा राजनीति सीमित गर्ने, विचार–सिद्धान्तभन्दा अनुशासनहीनता र आत्ममुग्धताको प्रवृत्ति लाई प्राथमिकता दिने यी सबैले संगठनको मूल मिशनमाथि गहिरो आघात पुर्याइरहेका छन्।

आजको कटु यथार्थ के हो भने,

कसैले संगठनको नाममा सामाजिक सञ्जाललाई असभ्य प्रतिक्रियाको बजार बनाएका छन्, कोही भने कार्यकालभर एकजना पनि सदस्य थप्न असफल हुन्छन् एउटा रचनात्मक कार्यक्रम गर्दैनन् अधिवेशनका बेला मात्र होटलको कोठामा रेडी–मेड भीड जम्मा गरेर नेतृत्व देखाउने नाटक गर्छन्।यस्ता युवाहरू स्थानीय तह वा आम निर्वाचनको बेला दुलोभित्र छिर्छन्, तर पार्टीको अधिवेशन, गुटीय बैठक वा सडकमुखी प्रदर्शनमा मात्र  मशाल बोकेर उपस्थित हुन्छन् यो राजनीतिक प्रतिबद्धता होइन, पार्टी र अमुक नेताको ब्राण्ड नाम बेचेर व्यक्तिगत अस्तित्वको बजार सजाउने प्रवृत्ति हो। अधिवेशन भनेको सामाजिक सजलमा गाली ब्यईज्जती गर्ने एक अर्कालाई खुईल्याउने दोहोरीगीतको मेला मात्र होइन यो संगठनको राजनीतिक दृष्टि, रणनीतिक योजना र भविष्यनिर्धारण गर्ने पवित्र मञ्च हो। तर जब अधिवेशनलाई गुट–उपगुटको प्रतिस्पर्धा, व्यक्तिगत प्रतिष्ठाको प्रदर्शन, र असन्दर्भिक बहसमा सीमित गरिन्छ, त्यस दिनदेखि संगठनको भविष्य राजनीतिक बन्जर भूमिमा धकेलिन्छ।

काभ्रे जिल्लाको वर्तमान परिदृश्यः

आज काभ्रेको अधिवेशनमा पेरीफेरीमा देखिएको स्थितिले एउटा गम्भीर प्रश्न उठाएको छ, के हामीलाई युवासंघ चाहिएको हो, कि युवा नामको भेषमा अराजनीतिक स्वेच्छाचारीको भीड? यदि यथार्थवादी, प्रतिबद्ध र नैतिक आधारमा उभिएको युवा नेतृत्व अघि नआयो भने, संगठन केवल स्वघोसीत नेताहरूको व्यक्तिगत सम्पत्ति जोगाउने र अधिवेशन नामक महोत्सवमा भीड भर्ने सहायक संरचना मा परिणत हुनेछ।त्यसैले ,यदि साँचो युवाले नेतृत्व गर्ने साहस र क्षमता देखाएनन् भने, संगठनले बनावटी नेता अवसरवादी चरित्र र गुटगत ठेकेदारको कब्जाबाट मुक्त हुन सकेन भने, यस्तो संगठनलाई विघटन गर्नु नै इतिहासको सही निर्णय हुनेछ ।

सोच्नुस अझै समय बॅाकि छ !

युवालाई पुनः जोश, जागर र जिम्मेवारीको पर्यायका रूपमा पुनर्स्थापित गर्ने,संगठनलाई गुटगत अराजनीतिक कुटिलता र व्यक्तिगत स्वार्थको दलदल बाट निकाल्ने,अधिवेशनलाई केवल औपचारिक अनुष्ठान होइन, जनताका मुद्दा र संगठनको भविष्यको युद्धभूमिमा रूपान्तरण गर्ने काममा लागौ  सबै न्याय प्रेमी युवाहरु युवासंघमा गोलबन्द हुने परिस्थिती बनोस युवा भविस्यको संवाहक बन्न सकुन, नवयुवाहरुले बैकल्पीक शक्ति रोज्न नपरोस सवै युवा शुखि नेपाली सम्बृद्ध नेपाल को यात्रामा गोलबन्द हुन सकुन यस्को लागि याद रहोस, युवासंघ केवल उमेरका कारण होइन, विचारका कारण जीवित रहन्छ। विचार मरे भने, संगठन बाँच्दैन । भुर्तेल नेकपा एमाले काभ्रे जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.