१४ जेठ २०८३, बिहिवार

उत्कृष्ट नतिजा ल्याउने एसईई विद्यार्थीलाई सम्मान

सिन्धुपाल्चोक । नेपाल राष्ट्रिय शिक्षक संगठन र शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ। जिल्लाका विभिन्न विद्यालयबाट उच्च GPA ल्याएका विद्यार्थीहरूलाई सम्मान गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।

कृष्णबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा राष्ट्रिय समिति सदस्य मैया पौडेलको उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा पालिकास्तर तथा जिल्लास्तरमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, मेडल, सम्मानपत्र तथा खादा प्रदान गरिएको थियो। यसका साथै जिल्लाभर उत्कृष्ट उपलब्धि हासिल गरेका थप १६ जना विद्यार्थीहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमल्सिनाले विद्यार्थीहरूको सफलता निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोचको परिणाम भएको बताउनुभयो। उहाँले शिक्षित र सक्षम युवापुस्ताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी नेपाल शिक्षक महासंघका उपाध्यक्ष नमराज नेपालले विद्यार्थीहरूलाई अध्ययनसँगै सिर्जनशील क्षमता विकास गर्न आग्रह गर्नुभयो। उहाँले नैतिक शिक्षा र व्यवहारिक ज्ञानलाई पनि समान महत्व दिनुपर्ने उल्लेख गर्नुभयो।

अभिभावकको प्रतिनिधित्व गर्दै डम्बर रसिक भारतीले बालबालिकाको सफलतामा परिवारको साथ, प्रेरणा र उचित वातावरणको महत्वपूर्ण योगदान रहने बताउनुभयो। आगामी दिनमा पनि विद्यार्थीलाई सकारात्मक मार्गदर्शन आवश्यक रहेको उहाँको भनाइ थियो।

सम्मानित विद्यार्थीहरूको तर्फबाट बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरकी छात्रा अनिषा पराजुलीले मन्तव्य व्यक्त गर्दै आफूहरूको सफलतामा शिक्षक, अभिभावक र विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ मेहनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लेखनाथ भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना आदानप्रदान, सम्मान वितरण तथा धन्यवाद ज्ञापनलगायतका कार्यक्रम समावेश गरिएको थियो। कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार तथा शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, प्रेरणा तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.