सिन्धुपाल्चोक । यहाँको बलेफी गाउँपालिका अन्तर्गतका तीन सहकारी संस्था एकीकरण भई गठन भएको सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेड ले प्ररम्भिक साधारणसभा गर्ने भएको छ । उक्त सहकारीले आफ्ना शेयर सदस्य, बचतकर्ता तथा सरोकारवालालाई यहि जेठ १४ गते हुने प्रारम्भिक साधारणसभामा सहभागी हुन आग्रह गरेको छ।
बलेफी गाउँपालिका वडा नम्बर ६ को जलसुन्दरी साना किसान कृषि सहकारी संस्था, वडा नम्बर ७ को माँखा एकीकृत कृषि सहकारी संस्था र वडा नम्बर ७ को सदाबहार बचत तथा ऋण सहकारी संस्था एकीकरण भई हाल सदाबहार साना किसान कृषि सहकारीका रूपमा सञ्चालनमा रहेको संस्थाले जनाएको छ।
बलेफी गाउँपालिका–६ जलबारीस्थित जलसुन्दरी साना किसान कृषि सहकारीमा ४६ जना सदस्य आबद्ध रहेका छन् भने संस्थाको आफ्नै नाममा भवन रहेको छ। त्यसैगरी बलेफी–७ खाडीचौरस्थित माँखा एकीकृत कृषि सहकारीमा करिब १ हजार २ सय सदस्य आबद्ध रहेकामा हाल ९ सय सदस्य सक्रिय रहेको जानकारी दिइएको छ।
सहकारीका अनुसार साविक सदाबहार बचत तथा ऋण सहकारीको कार्यक्षेत्र चार पालिकासम्म विस्तार भएको थियो। एकीकरणपछि बनेको सदाबहार साना किसान कृषि सहकारीले हाल बलेफी गाउँपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ लाई मुख्य कार्यक्षेत्र बनाएर सेवा प्रवाह गरिरहेको छ।
सहकारीका अध्यक्षले जारी गरेको सूचनामा तीनवटै सहकारीका शेयर सदस्य, बचतकर्ता, पूर्व तथा वर्तमान सञ्चालक समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सहकारीलाई निरन्तर सहयोग, सल्लाह र सुझाव प्रदान गर्दै आउनुभएका सम्पूर्ण महानुभावलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ।
“फोन, पत्र वा अन्य माध्यमबाट निमन्त्रणा दिन छुटेको भए पनि यस सूचनालाई नै आधिकारिक निमन्त्रणा मानी कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु,” अध्यक्ष देवकी पराजुली द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
सहकारी एकीकरणबाट सदस्यहरूको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.