१५ जेठ २०८३, शुक्रवार

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ६९ जनाले गरे रक्तदान

काठमाडौं ।  गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको वृहत् रक्तदान कार्यक्रम भएको छ । मानव सेवाभन्दा ठूलो धर्म केही नहुने सन्देशका साथ आयोजित उक्त कार्यक्रममा ६९ जनाले रक्तदान  गरेका छन् ।

कार्यक्रम नेकपा एमालेका सल्लाहकार परिषद्का निवर्तमान अध्यक्ष अमृतकुमार बोहरा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय तथा सामाजिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु अत्यन्त प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष कमल नेपाल, सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिना लगायत एमालेका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक रक्तदान गर्दै समाजमा रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफूहरू सहभागी भएको बताएका थिए । पछिल्लो समय अस्पतालहरूमा रगतको अभाव भइरहेका बेला यस्तो कार्यक्रमले धेरै बिरामीलाई जीवन बचाउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

कार्यक्रमका वक्ताहरूले गणतन्त्र स्थापना नेपाली जनताको ठूलो उपलब्धि भएको उल्लेख गर्दै लोकतन्त्र, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले युवापुस्तालाई सामाजिक सेवामूलक अभियानमा सक्रिय सहभागी हुन पनि आग्रह गरेका थिए ।

रक्तदान गर्ने सम्पूर्ण दाताहरूलाई आयोजकको तर्फबाट प्रशंसापत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमाणपत्र वितरण गर्दै आयोजकले रक्तदाताहरूको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको थियो । सहभागीहरूले कार्यक्रमलाई अनुकरणीय र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए । गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको यस रक्तदान कार्यक्रमले सामाजिक एकता, मानवीय सेवा र जिम्मेवार नागरिकताको सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.