एक बहुकोणीय विश्लेषण
डा.विजय दत्त
नेपालको शाहवंशीय इतिहास केवल सत्ता संघर्ष र भौगोलिक एकीकरणको कथा मात्र होइन, यो अनेकन् सांस्कृतिक सम्बन्ध, बहुआयामिक ऐतिहासिक शृङ्खला र रहस्यमयी उतारचढावहरूले भरिएको एउटा बृहत् दस्तावेज हुन । जसमा -शाह राजवंशको नाममा ‘विक्रम’ थपिनुको कारण, मिथिला-मधेश क्षेत्रसँग राजपरिवारको ऐतिहासिक एवं वैवाहिक सम्बन्ध, र हालै चर्चामा आएको राजदरबार हत्याकाण्डको फाइल पुनः खोल्ने राजनीतिक अन्तर्य के हो ? को बहुकोणीय विश्लेषण गरि पाठक समक्ष पस्कने जमर्को गरेको छु ।
१. *राजवंशको नाममा ‘विक्रम’ कसरी थपियो त ?*
शाह राजाहरूको नामको पछाडि ‘विक्रम शाह’ जोडिने परम्पराको सुरुवात राजा गीर्वाणयुद्ध विक्रम शाहबाट भएको छ । राजा ग्रिवाणको जन्म हाल मधेश प्रदेश तत्कालीन मिथिला जनकपुरधामको विन्धीकी एक अतीव सुन्दरी विधवा ब्राह्मण कन्या कान्तीवतीको गर्भबाट भएको हो ।
*क्रमभङ्गता र 'विक्रम' को प्रतिकात्मक अर्थ:*
परम्परागत रूपमा राजाको जेठी रानीको ज्येष्ठ सुपुत्र नै उत्तराधिकारी बन्ने नियम (Primogeniture) रहेको थियो । तर, राजा रणबहादुर शाह र रानी कान्तीवती देवीको सम्बन्धबाट जन्मिएका गीर्वाणयुद्धलाई डेढ वर्षकै उमेरमा वि.सं. १८५५ मा राजा घोषणा गरियो। जेठी रानीका सन्तान हुँदाहुँदै कनिष्ठ रानीका छोरालाई राजा बनाउँदा शाहवंशको उत्तराधिकारको परम्परागत 'क्रम' तोडियो। यही ऐतिहासिक क्रमभङ्गता वा 'क्रमको संकुचन/परिवर्तन' लाई 'विक्रम' (विशेष क्रम वा क्रम उल्लंघन) भनिएको वा थपिएको थियो ।
२. *मिथिला-मधेश र राजपरिवारको सम्बन्ध: शक्ति, संस्कृति र श्रापको चक्र*
नेपालको एकीकरण र त्यसपछिको शासकीय निरन्तरतामा मिथिला-मधेश क्षेत्रको भूमिका अत्यन्त गहिरो र बहुआयामिक रहेको छ । यसलाई दुईवटा मुख्य प्रसंगबाट हेर्न सकिन्छ -
क) *मकवानपुर-मिथिला सम्बन्ध र ऐतिहासिक प्रमाणिकता*
पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो। तत्कालीन मकवानपुर राज्यको सीमा र सांस्कृतिक प्रभाव मिथिला क्षेत्रसम्म फैलिएको थियो। सेन राजाहरूले आफूलाई 'हिन्दुपति' र मिथिला संस्कृतिको संरक्षक मान्थे र भनिन्थ्यो पनि ।
तर,त्यो वैवाहिक सम्बन्ध विभिन्न कारणले सुमधुर रहन सकेन। राष्ट्रिय एकीकरणको रणनीतिक उद्देश्य र पारिवारिक असंवेदनशीलताको कारण कालान्तरमा मकवानपुरमाथि गोर्खाली सेनाले विजय प्राप्त गरे । पराजित सेन राजवंशका सदस्यहरूले भोगेको कष्ट र त्यस क्रममा रानी वा मैथिल संस्कृतिका कुलहरूबाट निस्किएको 'श्राप' ले राजपरिवार समुल नष्ट भए । संयोग र नियतिको खेल भनौं श्रापित वचन अनुसार ,ठ्याक्कै एघारौँ पुस्तामा पुगेर वि.सं. २०५८ जेठ १९ गतेमा वंशको विनाश हुनुलाई धेरैले त्यही ऐतिहासिक न्याय वा नियतिको चक्रका रूपमा व्याख्या पनि गर्ने गरेको देखिन्छ ।
ख) *कान्तीवती देवी र जनकपुरधामको सांस्कृतिक सम्बन्ध*
जनकपुरधाम (विन्धी) की मैथिल ब्राह्मणकी छोरी कान्तीवती देवीसँग राजा रणबहादुर शाहको सम्बन्धले शाहवंशमा मैथिल र मधेशको रगत तथा संस्कृतिलाई सिधै राजदरबारभित्र प्रवेश गराए । कान्तीवतीप्रतिको अगाध प्रेम र उनकै सर्तका कारण नेपालले बालराजा गीर्वाणयुद्धलाई पाए । कान्तीवतीको अल्पायुमै (क्षयरोगका कारण) निधन भएपछि राजा रणबहादुर शाहमा उत्पन्न भएको मानसिक विचलन र मूर्तिहरू तोडफोड गर्नेसम्मका घटनाहरूले नेपालको इतिहासलाई ठुलो मोड दिए । यसरी मिथिला क्षेत्र नेपालको केन्द्रीय राजनीति र राजवंशको जग हल्लाउने वा बदल्ने शक्तिको केन्द्र बन्दै आएको देखिन्छ ।
३. *राजदरबार हत्याकाण्डको फाइल पुनः खोल्नुका अन्तर्य: न्याय कि राजनीति*?
वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्र भएको विभत्स हत्याकाण्ड नेपाली इतिहासको सबैभन्दा रहस्यमय र कालो अध्याय हुन । यस घटनाको २५ वर्षमा, वर्तमान सरकारका पुनः नवनियुक्त गृहमन्त्रीबाट यसको फाइल पुनः खोल्ने निर्णय हुनुका पछाडि गम्भीर राजनीतिक, मनोवैज्ञानिक र रणनीतिक अन्तर्यहरू लुकेका छरपस्ट देखिन्छ -
*राजदरबार हत्याकाण्ड फाइल पुनरावलोकनका आयामहरू*
क.*राजनीतिक लोकप्रियता*
जनताको विश्वास आर्जनको उपाय
ख.*भु-राजनीतिक कार्ड*
विदेशी शक्तिको प्रभाव देखाउने अस्त्र
ग.*न्यायिक संशय निवारण*
सर्वसाधारणको अविश्वास हटाउने प्रयास
* *राजनीतिक लोकप्रियता र 'एन्टि-इस्टाब्लिसमेन्ट' सेन्टिमेन्ट*
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका र जनतामाझ 'स्टन्ट' वा 'एक्सन' का माध्यमबाट लोकप्रिय हुन चाहने नेतृत्वका लागि राजदरबार हत्याकाण्ड जस्तो संवेदनशील विषय सबैभन्दा ठुलो हतियार बन्ने गरेको छ । विगतका प्रतिवेदनहरू (तारानाथ रानाभाट नेतृत्वको उच्चस्तरीय समिति) लाई बहुसंख्यक जनताले पूर्ण रूपमा विश्वास नगरेको हुनाले, यो फाइल खोल्ने घोषणाले तत्कालै जनतामा एक प्रकारको आशा र शासकीय दृढताको सन्देश दिन सक्ने अनुमान छ ।
*भू-राजनीतिक र आन्तरिक शक्तिको सन्तुलन*
राजदरबार हत्याकाण्डलाई सधैं आन्तरिक पारिवारिक कलह (युवराज दीपेन्द्रको विवाहको हठ) मात्र नभएर बाह्य शक्ति राष्ट्रहरूको खेलका रूपमा पनि हेरिने गरिएको देखिन्छ ।यो फाइल खोल्नुको अन्तर्य कहिलेकाहीँ घरेलु राजनीतिमा पुराना दलहरूलाई दबाबमा राख्न वा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो राजनीतिक अडान बलियो बनाउने रणनीतिक 'कार्ड' का रूपमा पनि प्रयोग हुने अनुमान छ ।
*२५ वर्षपछिको कानुनी र व्यावहारिक जटिलता*
२५ वर्षपछि फेरि छानबिन गर्दा नयाँ तथ्यहरू फेला पर्ने सम्भावना कतिको छ ? तत्कालीन समयका प्रत्यक्षदर्शी, प्रमाण र वैज्ञानिक फोरेन्सिक डेटाहरू धेरै हदसम्म नष्ट भइसकेका वा पुराना भइसकेका छन्। त्यसैले, यो प्रयास वास्तविक न्याय निरूपण भन्दा पनि राजनीतिक बहसलाई मोड्ने र जनताको सेन्टिमेन्ट (भावना) लाई आफूतिर आकर्षित गर्ने माध्यम बन्ने खतरा पनि उत्तिकै छ ।
*निष्कर्ष*
शाह राजवंशको इतिहास ऐतिहासिक तथ्य, सांस्कृतिक संयोग र राजनीतिक दाउपेचको एउटा सग्लो ऐना हुन । मिथिला-मधेशको सुन्दरीको सर्तले राजवंशको 'क्रम' भङ्ग गरी 'विक्रम' को सुरुवात गराउनु, र त्यही इतिहासको अर्को कालखण्डमा मकवानपुर-मिथिलाको श्रापको चर्चा हुनुले के प्रष्टिन्छ भने—नेपालको भूगोल र संस्कृति एकापसमा अभिन्न रूपमा बाँधिएका छन्।
आज २५ वर्षपछि नारायणहिटीको त्यो रक्ताम्मे इतिहासको पाना पल्टाउने गृह मन्त्रालयको निर्णय यदि केवल सस्तो राजनीतिक दाउपेच मात्र भयो भने यसले इतिहासमाथि थप न्याय गर्ने छैन। तर, यदि यसले वैज्ञानिक र निष्पक्ष ढङ्गबाट इतिहासको एउटा अनुत्तरित प्रश्नको जवाफ खोज्न सके भने, यसले नेपालको लोकतान्त्रिक प्रणालीलाई थप परिपक्व र पारदर्शी बनाउन अवश्य नै मद्दत गर्नेछ। मिथिला-मधेशवासी व्यग्रताका साथ परिणामको पर्खाइमा रहेको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.