मेलम्ची, सिन्धुपाल्चोक। शिशुको स्वस्थ विकासका लागि स्तनपानको महत्वलाई समुदायस्तरसम्म पुर्याउने तथा लागूऔषध दुव्र्यसनका बढ्दो चुनौतीलाई न्यूनीकरण गर्ने उद्देश्यसहित मेलम्ची नगरपालिकामा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा मेलम्ची नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रमले मातृ–शिशु स्वास्थ्य र सामाजिक स्वास्थ्यसँग सम्बन्धित दुई महत्वपूर्ण विषयलाई केन्द्रमा राखेको थियो।
कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को प्रभावकारी कार्यान्वयन, स्तनपान प्रवर्द्धन, शिशु पोषण तथा लागूऔषध दुव्र्यसन नियन्त्रणका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले कानुनी व्यवस्था, व्यवहारिक चुनौती र समुदायस्तरमा अपनाउनुपर्ने उपायबारे धारणा राखेका थिए।
कार्यक्रमका अध्यक्ष तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ले स्तनपानलाई केवल स्वास्थ्यको विषय नभई शिशुको आधारभूत अधिकारका रूपमा व्याख्या गर्नुभयो। उहाँले चिकित्सकीय आवश्यकता बाहेक आमाको दूधको विकल्प प्रयोग गर्ने प्रवृत्तिले शिशुको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने बताउँदै व्यवसायीहरूलाई पनि संवेदनशील भएर काम गर्न आग्रह गर्नुभयो। साथै, लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि परिवार र समुदाय नै पहिलो जिम्मेवार पक्ष रहेको उल्लेख गर्दै घरबाटै सचेतना अभियान सुरु गर्नुपर्ने धारणा राख्नुभयो।
जिल्ला न्यायाधिवक्ता भगवतीदेवी गौतम ले आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने सामग्रीको विज्ञापन, बिक्री तथा वितरणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिँदै ऐनको पालना सबै सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो।
त्यसैगरी, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र ले लागू पदार्थको प्रयोगले व्यक्ति मात्र होइन, परिवार र समग्र समाजलाई समेत असर गर्ने भएकाले यसको रोकथाममा सरकारी निकाय, अभिभावक र समुदायको संयुक्त प्रयास अपरिहार्य रहेको बताउनुभयो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं ले नवजात शिशुको पोषण र स्वास्थ्य सुरक्षाका दृष्टिले आमाको दूधको कुनै विकल्प नभएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु र कम्तीमा छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु विश्व स्वास्थ्य संगठनको सिफारिस हो। आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण तथा विभिन्न संक्रमणबाट जोगाउने महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
उहाँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रणसम्बन्धी कानुन लामो समयदेखि अस्तित्वमा रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई कानुनी प्रावधानको पूर्ण पालना गर्न आग्रह गर्नुभयो।
यो कार्यक्रमले मातृ–शिशु स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता दुई फरक तर एकअर्कासँग सम्बन्धित विषयलाई एउटै मञ्चमा उठाएको देखिन्छ। पछिल्लो समय बजारमा शिशु आहारका विकल्पहरूको आक्रामक प्रचारप्रसार बढ्दै जाँदा स्तनपानप्रतिको सचेतना घट्न सक्ने जोखिम रहेको छ। यस्ता अवस्थामा कानुनी व्यवस्था र जनचेतना दुवैलाई सँगसँगै अघि बढाउन आवश्यक देखिन्छ।
अर्कोतर्फ, लागूऔषध दुव्र्यसनको समस्या ग्रामीण तथा शहरी दुवै क्षेत्रमा चुनौतीका रूपमा देखा परिरहेको अवस्थामा यसको समाधान केवल सुरक्षात्मक कारबाहीबाट सम्भव हुँदैन। परिवार, विद्यालय, स्थानीय सरकार र समुदायको सक्रिय सहभागितासहित दीर्घकालीन सचेतनामूलक अभियान आवश्यक पर्ने विज्ञहरूको धारणा छ।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरूको सहभागिताले यी विषयलाई बहुआयामिक रूपमा सम्बोधन गर्ने प्रयास भएको देखिन्छ। सहभागीहरूले स्तनपान प्रवर्द्धन र लागूऔषध नियन्त्रणलाई स्वास्थ्य तथा सामाजिक विकासको साझा एजेण्डाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
जनस्वास्थ्य अधिकृत साहारा सापकोटा का अनुसार कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.