२५ जेठ २०८३, सोमवार

सिन्धुपाल्चोकमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने क्षमता अभिवृद्धि तालिम

सिन्धुपाल्चोक। जिल्लाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्व तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक एवं व्यवस्थापकीय सहयोगमा सुनकोशीस्थित ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट छनोट भएका ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। कार्यक्रमको समन्वय जनस्वास्थ्य अधिकृत सुविना श्रेष्ठले गर्नुभएको थियो।

प्रशिक्षण अवधिभर स्वयंसेविकाहरूलाई मातृ तथा नवजात शिशु स्वास्थ्य, पोषण सुधार, परिवार नियोजन सेवा, नियमित खोप कार्यक्रम, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, समुदायमा स्वास्थ्य सचेतना विस्तारलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। साथै स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी, समुदायसँगको समन्वय तथा स्वास्थ्य प्रवर्द्धनका विविध पक्षबारे पनि जानकारी दिइएको थियो।

स्थानीय तहगत सहभागिताअनुसार चौतारा साँगाचोकगढी नगरपालिकाबाट १० जना, मेलम्ची नगरपालिकाबाट ७ जना, पाँचपोखरी थाङपाल गाउँपालिकाबाट ६ जना, बाह्रविसे नगरपालिकाबाट ६ जना, त्रिपुरासुन्दरी गाउँपालिकाबाट ५ जना, सुनकोशी गाउँपालिकाबाट ४ जना, बलेफी गाउँपालिकाबाट ३ जना, हेलम्बु गाउँपालिकाबाट २ जना तथा इन्द्रावती र लिसंखुपाखर गाउँपालिकाबाट १/१ जना सहभागी भएका थिए।

तालिमको समापन जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा फेयरमेड फाउन्डेसन सिन्धुपाल्चोकका टिम लिडर डम्बरसिंह गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दबहादुर हायू, महिला आत्मनिर्भरता केन्द्रकी सचिव कालीमाया वाइबा, सामाजिक परिचालक हिरा थामी तथा ग्रामीण महिला सिर्जनशील परिवारका निर्देशक राजु विश्वकर्मा विशेष अतिथि तथा अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

प्रशिक्षक टोलीमा गोविन्दबहादुर हायू प्रमुख प्रशिक्षक रहनुभएको थियो भने भवानीकुमारी खड्का, नारायणकुमारी कार्की, सुजना कार्की, होसनारायण राउत तथा स्वस्थानी थामीले सहप्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो।

समापन अवसरमा वक्ताहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू ग्रामीण तथा स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्वपूर्ण कडी भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए। सहभागीहरूले पनि यस तालिमले स्वास्थ्यसम्बन्धी आफ्नो क्षमता र आत्मविश्वास बढाउन उल्लेखनीय सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.