काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस २०८३) को अवसरमा काठमाडौँमा भव्य र्याली तथा कार्यक्रम सम्पन्न गरेको छ। श्रमिक अधिकार, मर्यादित कामको वातावरण र सीप विकासको मागसहित आयोजित उक्त र्यालीमा ठूलो सङ्ख्यामा श्रमिक, ट्रेड युनियनकर्मी तथा विभिन्न पेशागत संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
“कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि : प्रविधिसँग प्रगति – श्रमिकसँग समृद्धि” भन्ने मूल नारासहित आयोजना गरिएको र्याली बिहान काठमाडौं को भृकुटीमण्डपबाट सुरु भएको थियो। त्यहाँबाट सुरु भएको जुलुस शहरका मुख्य मार्ग हुँदै अघि बढ्दै सुन्धारा , रत्नपार्क क्षेत्र पार गर्दै अन्ततः नेपाल प्रज्ञा परिसर (प्रज्ञा भवन) पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीका क्रममा सहभागीहरूले श्रमिकको हकहित सुनिश्चित गर्न सरकार र रोजगारदाताहरूलाई थप जिम्मेवार बन्न आग्रह गरेका थिए। उनीहरूले बदलिँदो प्रविधि र डिजिटल युगमा श्रमिकहरूको सीप अभिवृद्धि अत्यावश्यक रहेको उल्लेख गर्दै त्यसका लागि राज्यस्तरीय नीतिगत सुधारको माग पनि उठाएका थिए।
कार्यक्रममा जिफन्टका प्रतिनिधिहरूले श्रम क्षेत्रलाई सुरक्षित, मर्यादित र उत्पादक बनाउँदै सामाजिक सुरक्षाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। साथै, औद्योगिक सम्बन्धलाई सुदृढ गर्दै श्रमिक र रोजगारदाता बीच सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
मे दिवसलाई ऐतिहासिक श्रमिक संघर्षको प्रतीकका रूपमा स्मरण गर्दै सहभागीहरूले श्रमिक एकता, न्याय र समान अवसरका लागि निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.