७ वैशाख २०८३, सोमवार

एमाले नुवाकोटको सातौं पूर्ण बैठक

नुवाकोट  । नेकपा (एमाले) जिल्ला कमिटी नुवाकोटको सातौं पूर्ण बैठक आइतबार सम्पन्न भएको छ। बैठक जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज केशवराज पाण्डेको प्रमुख आतिथ्य र केन्द्रीय कमिटी सदस्य एवं निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज बिन्दा ढुंगानाको विशिष्ट आतिथ्यमा विदुरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको हो।

बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटका दुबै निर्वाचन क्षेत्रमा पार्टी तथा उम्मेदवारका पक्षमा मतदान गर्ने मतदाता, साथै चुनावमा सक्रिय रूपमा खटिएका नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

त्यसैगरी, निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मतपरिणाम र समग्र सांगठनिक अवस्थाको समीक्षा गर्दै जनसरोकारका मुद्दामा जनतासँग सहकार्य गर्दै पार्टी गतिविधि प्रभावकारी बनाउने निर्णय गरिएको छ। पार्टी सदस्यता लिएका सबै सदस्यलाई २०८२ जेठ मसान्तभित्र सदस्यता नवीकरण गर्न आग्रह गरिएको छ।

बैठकले प्रत्येक वडा तथा पालिकामा निर्वाचनको मतपरिणामको वस्तुगत समीक्षा गरी पार्टी सुदृढीकरणका योजनासहितको प्रतिवेदन जिल्ला कार्यालयमा बुझाउन निर्देशन दिएको छ। साथै, २०८२ भदौ २३ र २४ गते भएको आगजनीबाट क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने निर्णय गरिएको छ। जिल्ला कमिटी सदस्यबाट न्यूनतम ५ हजार र प्रदेश कमिटी सदस्यबाट १० हजार रुपैयाँ सहयोग गर्ने तथा प्रतिबद्धता जनाएर रकम नबुझाएकाहरूलाई वैशाख २० भित्र बुझाउन अनुरोध गरिएको छ।

बैठकले हाल नयाँ दिल्लीमा उपचाररत जिल्ला उपाध्यक्ष राजेन्द्र रमण खनालको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.