२६ फागुन २०८२, मङ्गलवार

पोर्चुगलमा नेपाली महिलाहरुले मनाए ११६औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

पोर्चुगल । ११६औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा Nepalese Women Association Portugal ले राजधानी लिस्बनमा विशेष कार्यक्रम आयोजना गरी उत्साहका साथ महिला दिवस मनाएको छ। मार्च ८ का दिन सम्पन्न उक्त कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने नेपाली महिलाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

महिला अधिकार, समानता र एकताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरण अन्तर्गत लिस्बनको प्रमुख पर्यटकीय स्थल Marquês de Pombal Square बाट एक विशाल र्‍याली सुरु गरिएको थियो। नेपाली सांस्कृतिक पहिचान झल्किने पहिरन र गरगहनामा सजिएका महिलाहरूले हातमा मादल र खैजडी लिएर र्‍यालीमा सहभागिता जनाएका थिए।

र्‍यालीका क्रममा महिला सशक्तीकरण र अधिकारसम्बन्धी सन्देश बोकेका प्लेकार्डहरू प्रदर्शन गरिएका थिए। ती प्लेकार्डहरू नेपाली, पोर्चुगिज र अङ्ग्रेजी भाषामा लेखिएका थिए र कलात्मक ढङ्गले सजाइएका कारण आकर्षक देखिन्थे। Marquês de Pombal Square बाट सुरु भएको र्‍याली Restauradores Square मा पुगेर समापन भएको थियो। र्‍यालीमा नेपाली समुदायका महिलासँगै विभिन्न देशका महिला अधिकारकर्मी र स्थानीय नागरिकहरूको समेत सहभागिता रहेकोले कार्यक्रम अन्तर्राष्ट्रिय स्वरूपको बनेको थियो।

र्‍यालीपछि दोस्रो चरणको कार्यक्रम Alameda Park मा आयोजना गरिएको थियो। संस्थाकी अध्यक्ष Gita Reule को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष Maya Kharel प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन महासचिव Saraswati Gautam ले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले महिला अधिकार, लैङ्गिक समानता तथा विदेशमा रहेका नेपाली महिलाहरूले भोगिरहेका चुनौती र उपलब्धिहरूका विषयमा विचार व्यक्त गरेका थिए। अतिथि Sajjan Hamal ले कार्यक्रमको सफल आयोजनाप्रति खुशी व्यक्त गर्दै पोर्चुगलको मुख्य शहरमा नेपाली झण्डा फहराउँदै नेपाली समुदायले आफ्नो पहिचान देखाएकोमा गर्व लागेको बताउनुभयो। साथै उहाँले कार्यक्रममा खाजाको रूपमा पानी र चाउचाउ उपलब्ध गराएर सहयोग गर्नुभएको थियो। स्थानीय सहयोगी जुलिआनाले पनि दुई क्यास पानी प्रदान गरी कार्यक्रमलाई सहयोग पुर्‍याएकी थिइन्।

औपचारिक कार्यक्रमपछि सहभागीहरूबीच सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। महासचिव Saraswati Gautam ले ‘रुमाल गाँठो पार्ने’ खेल सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा उपस्थित महिलाहरूले मादल र खैजडी बजाउँदै गीत गाएर नाचगान गरेका थिए र एकअर्कामा शुभकामना साटासाट गरेका थिए। यस अवसरले प्रवासमा व्यस्त जीवन बिताइरहेका नेपाली महिलाहरूलाई एकआपसमा भेटघाट गर्ने, आत्मीयता बढाउने र खुसी साट्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका थिए।

सन् २०१४ मा स्थापना भएको Nepalese Women Association Portugal ले पोर्चुगलमा रहेका नेपाली महिलाहरूको अधिकार संरक्षण, क्षमता विकास तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस वर्षको सफल कार्यक्रमले संस्थाको सक्रियता र नेपाली समुदायबीचको एकता अझ सुदृढ भएको सन्देश दिएको आयोजकहरूले बताएका छन्।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.