माघ ८, सिन्धुपाल्चोक । यतिबेला प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गएको छ । सिन्धुपाल्चोक क्षेत्र नं. १ राजनीतिक रूपमा निर्वाचन माहोल तातिँदै गएको छ । प्रमुख दलसँगै नयाँ राजनीतिक शक्तिहरू मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
यसअघि गठबन्धनको छायाँमा भएको निर्वाचनभन्दा योपटक परिदृश्य बिल्कुलै फरक देखिन्छ । अघिल्लो चुनावमा सहकार्य गरेका दलहरू यसपटक आ–आफ्नै चुनावी यात्रामा निस्किएपछि मत गणित नयाँ ढंगले फेरिन सक्ने संकेत देखिएको छ ।
यस क्षेत्रबाट नेकपा (एमाले) ले सरेश नेपाललाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसबाट जंगबहादुर लामा, नेपाली कम्युनिस्ट पार्टीबाट माधव सापकोटा सुबोध चुनावी मैदानमा छन् । त्यस्तै, नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भरतप्रसाद पराजुलीलाई उम्मेदवार बनाएको छ । पुराना दलका परम्परागत मतदातामाथि रास्वपाको प्रभाव कस्तो पर्ला भन्ने कौतुहल धेरैलाइ लागेको छ । सिन्धुपाल्चोक दुई प्रतिनिधि सभा क्षेत्रमा क्षेत्र नं. १ मा भोटेकोशी गापा, बाह्रबिसे नपा , त्रिपुरासुन्दरीगापा, लिसंखुपाख गापा, जुगल गापा बलेफी गापा, सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका ५ वटा वडाहरू पर्दछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ कुल मतदाता संख्या १ लाख ३६ हजार ९ सय ८५ छ ।
अघिल्लो संघीय निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबी, तत्कालीन समाजवादी आदिले तालमेल गरेका थिए । त्यस गठबन्धनबाट उठेका माधव सापकोटाले ३० हजारभन्दा बढी मतसहित जित हात पारेका थिए भने एमालेका सरेश नेपालले २७ हजार मत ल्याएका थिए । सो निर्वाचनमा रास्वपाले भने करिब ३ हजार मत प्राप्त गरेको थियो ।
समानुपातिक मत परिणामले भने एमालेको बलियो उपस्थिति देखाएको थियो । एमालेले सबैभन्दा बढी मत ल्याउँदा कांग्रेस र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए । रास्वपा र राप्रपा पनि उल्लेख्य मतसहित उपस्थित भएका थिए ।
स्थानीय तहको राजनीतिक अवस्थालाई हेर्दा पनि यो क्षेत्र बहु प्रतिस्पर्धाको केन्द्र देखिन्छ ।
यी सबै आधारलाई हेर्दा यसपटक सिन्धुपाल्चोक क्षेत्र नं. १ मा एमाले, कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र रास्वपाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नयाँ दल रास्वपाले कुन दलको मत कति लिन्छ? भनेर धेरैले चासो दिने दिएको पाइन्छ । चुनावी परिणामलाइ रास्वपाको मतले प्रभाव पार्न सक्ने अनुमान धेरैको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.