२ माघ २०८२, बिहिवार

माघे संक्रान्ति : पिस्कर - दमन र प्रतिरोधको कथा

ईश्वर पोखरेल ———————————

आजभन्दा ४२ वर्ष पहिले  - 

    माघ १ । मुलुकमा निर्दलीय र निरंकुश शासन सत्ताको जगजगी चलेका बेला !  जनतामाथि दमन अत्याचारको कुनै सिमा थिएन !  दमन धरपकड, वारेण्ट , गिरफ्तारी, जेल , निर्वासन, हत्याको कुनै सिमा थिएन ! यसैक्रममा माघे संक्रान्तिको रमाइलो गरिरहेका सिन्धुपाल्चोक जिल्लाको पिस्करका जनतामाथि २०४० सालको माघ १ गते राती  निरंकुश सत्ताद्वारा भिषण दमन गरिएको थियो । बीरवहादुर थामी र इले थामी त्यही मारिनु भएको थियो । ( पछि दमनमा परी मारिनेहरूको संख्या ६ पुगेको थियो ) । त्यसवेलाका विद्यार्थी नेता अरूण नेपाल , सरेश नेपाल लगायत पचासौं जनालाई गिरफ्तार गरिएको थियो , सयौंमाथि वारेण्ट जारी गरिएको थियो । डरलाग्दो राज्य आतंक खडा गरिएको थियो । परिवर्तनको  अभियानमा जुटेका राजनीतिक कार्यकर्ताहरू  त्यस्तो बेलामा पनि आफ्नो ज्यान  जोखिममा पारेर जनताका विचमा  भने पुगिरहेका थिए । त्यसवेला , सिंधुपाल्चोक र  ‘ मध्य - उत्तर’ भनिने सिंगो बागमती मा अमृत बोहरा , अष्टलक्ष्मी शाक्य , माधव पौडेल लगायतका साथीहरू क्रियाशील हुनुहुन्थ्यो ।  त्यसको केही समयपछि  ‘ मध्य- दक्षिण’ क्षेत्रबाट म त्यही  ‘ मध्य - उत्तर ‘ क्षेत्रमा जिम्मेवारी लिएर पुगेको थिएं । त्यस क्षेत्रमा विशेष खोजी गरिएका साथीहरू खासगरी अमृत बोहोरा र अष्टलक्ष्मीशाक्यलाई ‘ पूर्व-उत्तर‘ पठाइएको थियो । 

मैले जिम्मेवारी लिएपछि पिस्करमाथि गरिएको दमन र त्यहां जनताले गरेको प्रतिरोधको दस्तावेज तयार गर्ने काममा विशेष किसिमले लाग्नु परेको थियो । सत्ताको विरोधमा एउटा पर्चा समेत छापेर वितरण गर्न कठिन हुने/ जोगिनुपर्ने  समयमा  त्यस्तो  दस्तावेज तयार गर्ने कुरा अत्यन्त जोखिमपूर्ण काम थियो । र, त्यही काम गर्न हामी कस्सिएका  थियौं । यो कामको योजना बनाएपछि हामी केही साथीहरू विशेष सकृयताका साथ काममा जुटेका थियौं । यो काममा काठमाण्डौंमा रहनु हुने आदरणीय अग्निशिखा, शार्दूल भट्टराई  र  भूमिगत रूपमा कार्यरत माधव पौडेल लगायतका साथीहरूको विशेष भूमिका रहेको छ । अमृत बोहोराले विशेष रूचीका साथ योगदान पुर्याउनु भएको छ । जोखिम मोलेर टेकु को सम्झना प्रेसका मानन्धर थरका मालिकले छपाइको काम गरिदिएका थिए ! र, यसरी, हामी सबै मिलेर  ‘पिस्कर - दमन र प्रतिरोधको कथा’ नामक ऐतिहासिक दस्तावेज तयार पारेका थियौं । 

 आज माघे संक्रान्तिका दिन - यसलाई पर्वका रूपमा मनाइरहंदा पिस्करमा भएको दमन र त्यहां जनताले गरेको प्रतिरोधको कथाको  सम्झना  पनि ताजा बनेर आउंछ , प्रतिकूलता र चुनौतीका ती दिनहरूको सम्झना हुन्छ ।  बिडम्वना !  आज पनि, परिवर्तनका लागि भएका विगतका ती प्रशंग नबुझ्ने, अबमूल्यन गर्ने कतिपय पात्रहरू हैसियत जमाएर आफूलाई प्रस्तुत गरिरहेका हुन सक्छन् । तर तिनै गौरवपूर्ण विगतको जगमा अहिले हाम्रो फराकिलो बर्तमान उभिएको कुरालाई हामीले सम्झिरहनुपर्छ ! पोखरेल एमालेको नेता हुनुहुन्छ 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.