काठमाडौँ, ३० पुस । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुखमा प्रा.डा. देवका कुमारी आचार्य नियुक्त हुनुभएको छ ।
त्रिवि कार्यकारी परिषदको निर्णयअनुसार प्रा.डा. आचार्यलाई आगामी चार वर्षका लागि महाराजगञ्ज नर्सिङ क्याम्पसको प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो। यसअघि उक्त पदमा मुना राना कार्यरत हुनुहुन्थ्यो। उहाँको कार्यकाल सम्पन्न भएपछि परिषदले नयाँ नेतृत्वका रूपमा प्रा.डा. आचार्यलाई नियुक्त गरेको हो।
नव नियुक्त क्याम्पस प्रमुख प्रा.डा. देवका कुमारी आचार्य हाल नेपाल नर्सिङ संघको महासचिव समेत हुनुहुन्छ। नर्सिङ शिक्षा, पेशागत विकास तथा नेतृत्व क्षेत्रमा लामो अनुभव बोकेकी आचार्यको नियुक्तिलाई नर्सिङ समुदायले सकारात्मक रूपमा लिएको छ।
यसैबीच, पूर्व क्याम्पस प्रमुख मुना रानालाई भने सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरिसकेको छ। यसले नर्सिङ क्षेत्रको नेतृत्वमा अनुभवी व्यक्तिहरूको निरन्तर सहभागिता सुनिश्चित भएको देखिन्छ।
क्याम्पस प्रमुखमा प्रा.डा. आचार्य नियुक्त भएसँगै नेपाल नर्सिङ संघले औपचारिक रूपमा बधाइ तथा शुभकामना व्यक्त गरेको छ। संघले आज एक शुभकामना सन्देश जारी गर्दै उहाँको कार्यकाल सफल रहोस् भन्ने कामना गरेको छ। संघकी अध्यक्ष चन्द्रकला शर्माद्वारा हस्ताक्षरित बधाइ तथा शुभकामना पत्रमार्फत नर्सिङ शिक्षाको उन्नयन र संस्थागत विकासमा आचार्यको नेतृत्वबाट सकारात्मक योगदान हुने विश्वास व्यक्त गरिएको छ । यसैगरी, प्रा.डा. आचार्यका शुभेच्छुक, सहकर्मी तथा नर्सिङ क्षेत्रका विभिन्न व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत बधाइ तथा शुभकामना व्यक्त गर्दै उहाँको कार्यकाल सफल र प्रभावकारी हुने अपेक्षा गरेका छन्।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.