सिन्धुपाल्चोक । यहाँका बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बलेफी गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षता तथा उपाध्यक्ष सरु लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईँ, वडा अध्यक्षहरू छबिलाल नेउपाने, रितेश तामाङ र तेजबहादुर पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको अध्यक्षता तथा उपाध्यक्ष गीताकुमारी नेपालको आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि निसान सापकोटा तथा वडा अध्यक्षहरू सिताराम थापा, रमेश राउत, शिवकुमार कार्की, टेकबहादुर गुभाजु, यादव श्रेष्ठ र रमेश बोहरालगायतको सहभागिता रहेको थियो।
दुवै कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूले खोप कार्यक्रमसहित समग्र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले समुदायमा खोप कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले निर्वाह गरेको भूमिकाप्रति आभारसमेत व्यक्त गरे।
कार्यक्रमका क्रममा बलेफी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरे तथा त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले पूर्णखोप अभियानको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए।
दुवै गाउँपालिकाले बालबालिकाको नियमित खोप सुनिश्चित गर्दै पूर्णखोपको अवस्थालाई दिगो बनाउने लक्ष्यका साथ स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र समुदायस्तरमा जनचेतना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। :::
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.