हेलम्बु । आठौं संस्करणको पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा हेलम्बु गाउँपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लबले प्रभावशाली जित हात पार्दै आफ्नो उपाधि यात्रालाई थप मजबुत बनाएका छन्। बिहीबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न दुवै खेल एकतर्फी बनेका थिए।
पहिलो खेलमा हेलम्बु गाउँपालिकाले थाङपाल भ्याली माध्यमिक विद्यालयमाथि २४४ रनको विशाल अन्तरको जित निकाल्यो। टस जितेर ब्याटिङ रोजेको हेलम्बुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ३०१ रनको पहाडजस्तै स्कोर खडा गरेको थियो। टोलीको सफलतामा सचिन लेखक नायक बने। उनले केवल ७५ बलको सामना गर्दै १२ चौका र २० छक्काको मद्दतमा अविजित २०९ रनको अविश्वसनीय इनिङ्स खेले। विनोद तामाङले पनि आक्रामक ब्याटिङ गर्दै २३ बलमा ४९ रन जोडे।
३०२ रनको कठिन लक्ष्य पछ्याएको थाङपाल भ्यालीको ब्याटिङ लाइनअप पूर्ण रूपमा दबाबमा देखियो। टोली १५ ओभरभित्रै ५७ रनमा समेटियो। दीपक भण्डारीले सर्वाधिक १० रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। हेलम्बुका विनोद तामाङले २ विकेट लिए भने नम्खाङ दोर्जे शेर्पा, पेम्बा शेर्पा, मनोज यादव, दोर्जे छिरिङ, उर्केन ह्योल्मो र विवेक तामाङले समान एक–एक विकेट लिए।
त्यसैगरी दोस्रो खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबले साँगाचोक युथ क्लबलाई ९७ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको हिमालयनले १३ ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो। टोलीका लागि सुमन सुनारले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ८४ रनको अविजित इनिङ्स खेले, जसक्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे। कप्तान पेम्बा तामाङले १५ तथा कर्मा तामाङले १४ रनको योगदान दिए।
जितका लागि १३१ रनको लक्ष्य पछ्याएको साँगाचोक युथ क्लब सुरुदेखि नै दबाबमा रह्यो र केवल ३३ रनमा अलआउट भयो। सक्रिया प्रताप कार्कीले १२ रन बनाए पनि अन्य खेलाडीले टिकेर खेल्न सकेनन्। पाँचपोखरी हिमालयनका अजय तामाङले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ३ रन खर्चिएर ३ विकेट लिए। कर्मा तामाङले २ विकेट झारे भने विश्वास खत्री र रिन्जिन तामाङले समान १–१ विकेट हात पारे।
प्रतियोगिताको चौथो दिन दर्शकले दुई फराकिला जितका खेल हेर्न पाए। हेलम्बुका सचिन लेखकको कीर्तिमानी दोहोरो शतक तथा पाँचपोखरी हिमालयनका सुमन सुनारको उत्कृष्ट अर्धशतक दिनका विशेष आकर्षण बने। लगातार उत्कृष्ट लयमा देखिएका यी दुवै टोलीले प्रतियोगिताको उपाधि होडमा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेका छन्।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.