सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।
सामाजिक विकास समिति संयोजक छिरिङ लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तान प्रमुख अतिथि तथा वडा नं. २ का अध्यक्ष पेम्बा लामा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले खोप कार्यक्रमको वर्तमान अवस्था, उपलब्धि तथा आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत निशान सापकोटाले हेलम्बुले पूर्णखोप सुनिश्चितता कायम राख्न देखाएको सक्रियता अन्य स्थानीय तहका लागि समेत प्रेरणादायी रहेको बताउनुभयो। उहाँका अनुसार सिन्धुपाल्चोकमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने हेलम्बु तेस्रो स्थानीय तह बनेको छ। नियमित खोप सेवाको पहुँच विस्तार, अभिलेख व्यवस्थापन र समुदायको सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।
कार्यक्रममा सातवटै वडाका स्वास्थ्यचौकी प्रमुख, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, खोप सहजकर्ता तथा खोप अभियानमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। यसले स्वास्थ्य क्षेत्रमा योगदान गर्ने जनशक्तिको मनोबल वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रमुख अतिथि मोक्तानले पूर्णखोप सुनिश्चितता घोषणा केवल एक औपचारिक प्रक्रिया नभई बालबालिकाको भविष्यसँग जोडिएको जिम्मेवारी भएको उल्लेख गर्नुभयो। स्वास्थ्य संस्थाहरूमा रहेका समस्या समाधानका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै उहाँले खोप सेवाको निरन्तरता र गुणस्तरमा कुनै कमी आउन नदिन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
विशेष अतिथि पेम्बा लामाले गाउँस्तरमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न समुदाय स्वयं सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष छिरिङ लामाले स्वास्थ्य क्षेत्र गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्णखोप सुनिश्चितता कायम राख्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा स्थानीय तहको स्वास्थ्य व्यवस्थापन क्षमताको महत्वपूर्ण सूचक मानिन्छ। यसले खोपको पहुँच मात्र नभई नियमित सेवा प्रवाह, अभिलेखीकरण प्रणाली, समुदायको सहभागिता तथा स्वास्थ्य सचेतनाको अवस्थासमेत प्रतिबिम्बित गर्छ। हेलम्बुको यो उपलब्धिले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगहरूको जोखिमबाट सुरक्षित राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।
यद्यपि घोषणा आफैंमा अन्तिम उपलब्धि होइन। खोप छुटेका बालबालिकाको पहिचान, दुर्गम बस्तीमा सेवा विस्तार, अभिभावकको चेतना अभिवृद्धि तथा नियमित अनुगमनलाई निरन्तरता दिन सके मात्र यस उपलब्धिलाई दीगो बनाउन सकिन्छ। त्यसैले हेलम्बुको यो घोषणा स्वास्थ्य क्षेत्रमा हासिल भएको उपलब्धिसँगै आगामी चुनौतीहरूलाई सामना गर्ने प्रतिबद्धताको संकेत पनि हो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.