सुकुटे । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० मा समुदायमा आधारित ‘एक वडा एक कफी उत्पादन’ कार्यक्रमअन्तर्गत संयुक्त कार्यक्रम अनुगमन, कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ। जिल्ला कफी सहकारी संघका अध्यक्ष मन्दु थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सरलसहयात्री पौडेल प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा र वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ विशेष अतिथिका रूपमा सहभागी भएर सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कृषि विकास कार्यालय धुलिखेल, नगर कृषि विकास कार्यालय, स्थानीय संघसंस्था तथा विभिन्न कफी उत्पादक समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मन्दु थापाले हाल सिन्धुपाल्चोक मा १२४.६ हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको र १० हजार हेक्टरभन्दा बढी क्षेत्रमा कफी खेती विस्तार गर्न सकिने सम्भावना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल ४५ वटा कफी उत्पादन समूह सक्रिय छन्।
थापाले ‘एक वडा एक कफी उत्पादन’ कार्यक्रमका लागि कृषि विकास कार्यालय धुलिखेलबाट २४ लाख रुपैयाँ, चौतारा साँगाचोकगढी नगरपालिकाबाट ८ लाख रुपैयाँ तथा स्थानीय समुदायको तर्फबाट ९ लाख रुपैयाँ योगदान जुटाइएको बताउनुभयो। कुल ४२ लाख रुपैयाँको सम्झौता भएकोमा हालसम्म ३१ लाख रुपैयाँ खर्च भई ७४ प्रतिशत कार्यान्वयन सम्पन्न भएको जानकारी दिँदै कफीमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
प्रमुख अतिथि प्रदेशसभा सदस्य सरलसहयात्री पौडेलले कृषि क्षेत्रमा विविधीकरण आवश्यक रहेको बताउँदै कफीजस्तै अन्य उत्पादनको पनि प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो। कृषिमा संलग्न किसानलाई विभिन्न तहमा वर्गीकरण गरी राज्यले आवश्यक सहयोग पुर्याउनुपर्नेमा जोड दिँदै निरन्तर प्रयास र लगनशीलताबाट मात्रै सफलता प्राप्त हुने उल्लेख गर्नुभयो। कफी खेतीलाई निरन्तरता दिन आग्रह गर्दै आफूबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशेष अतिथि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले कृषि कर्मलाई स्वाभिमानसँग जोडिएको पेशाका रूपमा व्याख्या गर्दै नगरपालिकाले “पढ्दै कमाउँदै” कार्यक्रममार्फत विद्यार्थीहरूलाई समेत कफी खेतीमा आबद्ध गराएको बताउनुभयो। कफीसँगै अन्य नगदेबालीको विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले कृषिका लागि विनियोजित बजेट पूर्ण रूपमा खर्च हुन नसकेको र वास्तविक किसानको सहभागिता अझ बढाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो।
वडा अध्यक्ष निलबहादुर तामाङले ‘एक वडा एक कृषि उत्पादन’ तथा कफी पकेट कार्यक्रम वडा नं. १० मा ल्याउन ठूलो मेहनत गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा बाँझो जमिनमा १५ हजार कफीका बिरुवा रोप्ने योजना रहेको जानकारी दिँदै वडाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने बताउनुभयो। हाल वडा भित्र रहेका करिब १,२०० घरधुरीमध्ये झण्डै १७७ घरधुरी मात्र कफी खेतीमा आबद्ध रहेको जानकारी पनि दिनुभयो।
कृषकको तर्फबाट बोल्दै यमबहादुर महतले कफी खेतीका लागि उपयुक्त जमिनको छनोट महत्वपूर्ण हुने बताउँदै “कसले कति बोट रोप्यो भन्नेभन्दा पनि उत्पादनको गुणस्तर कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ” भन्नुभयो।
कृषि विकास कार्यालय धुलिखेलका प्रमुख कुलप्रसाद दवाडीले सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहसँगको सहकार्यमा कफीलगायत विभिन्न कृषि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। इन्द्रावती, बलेफी, त्रिपुरासुन्दरी तथा चौतारा साँगाचोकगढी नगरपालिकामा कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गर्दै नेपालबाट निर्यात हुने करिब ७०० टन कफीमध्ये काभ्रे र सिन्धुपाल्चोकबाट मात्रै करिब १८० टन उत्पादन हुने जानकारी दिनुभयो।
कार्यक्रमका अवसरमा कालीदेवी सहकारी संस्थाका अध्यक्ष यमबहादुर महतलाई नगद एक हजार रुपैयाँ तथा कफी काँटछाँट गर्ने यन्त्र सिकेचर प्रदान गरी सम्मान गरिएको थियो। साथै कृषकहरूलाई मिनी टिलरलगायत विभिन्न कृषि औजार तथा सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले चौतारा साँगाचोकगढी नगरपालिका–१० लाई कफी उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्दै स्थानीय कृषकको आयआर्जन वृद्धि र कृषि आत्मनिर्भरतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.