मेलम्ची । पाँचपोखरी थाङपाल गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सफल भएका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको कदर गरेको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालयबाट एसइई उत्तीर्ण भएका १४४ जना विद्यार्थीलाई विशेष कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो।
शिक्षा शाखाका अनुसार उत्कृष्ट नतिजा हासिल गरी ए प्लस ग्रेड ल्याउने पाँच जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो। त्यसैगरी अन्य सफल विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ। कक्षा ८ को परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने तीन जना विद्यार्थीलाई समेत जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले विद्यार्थीहरूको मेहनत र उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा थप सहयोग र प्रोत्साहन उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टासी लामाले शिक्षा समाज रूपान्तरण र समृद्धिको प्रमुख आधार भएको बताउनुभयो। उहाँले अघिल्लो वर्ष जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको गाउँपालिका यस वर्ष केही विद्यालयको कमजोर प्रदर्शनका कारण दोस्रो स्थानमा सीमित हुनुपरेको उल्लेख गर्दै सम्बन्धित विद्यालयहरूले समीक्षा गर्दै सुधारका लागि गम्भीर पहल गर्नुपर्ने धारणा राख्नुभयो।
अध्यक्ष लामाले शिक्षा मन्त्रालयका केही नीतिगत निर्णयप्रति असन्तुष्टि जनाउँदै विशेषगरी आइतबार बिदा सम्बन्धी व्यवस्थाले विद्यार्थीहरूको शैक्षिक भविष्यमा असर पारेको टिप्पणी गर्नुभयो। स्थानीय भौगोलिक अवस्था र आवश्यकता अनुसार निर्णय हुनुपर्नेमा जोड दिँदै गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई केवल शैक्षिक प्रमाणपत्र प्राप्तिमै सीमित नरही व्यवहारिक ज्ञान, सीप, अनुशासन र नैतिक शिक्षामा समेत ध्यान दिन आग्रह गर्नुभयो।
उपाध्यक्ष सुनिता अधिकारीले सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उपलब्धिसँगै जिम्मेवारी पनि बढ्ने बताउनुभयो। युवाहरूको क्षमता विकास तथा नेतृत्व अभिवृद्धिका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै लक्ष्यप्रति स्पष्ट भएर अघि बढ्न सुझाव दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले गुणस्तरीय शिक्षाको विकास गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। विद्यालयको भौतिक संरचना, शैक्षिक सामग्री र सिकाइको वातावरण सुधारका लागि निरन्तर लगानी भइरहेको उहाँको भनाइ थियो।
सम्मानित विद्यार्थीहरूले गाउँपालिकाबाट प्राप्त सम्मानले थप उत्साह र ऊर्जा मिलेको प्रतिक्रिया दिएका थिए। यस्तो प्रोत्साहनले आगामी अध्ययन यात्रामा अझ बढी मेहनत गर्ने प्रेरणा प्राप्त भएको उनीहरूको भनाइ थियो।
कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा सहभागी सौनक भट्टले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, समय व्यवस्थापन, आत्मविश्वास र सकारात्मक सोचको महत्वबारे जानकारी गराउनुभयो। उहाँले सफलताको यात्रामा निरन्तर अभ्यास, धैर्य र स्पष्ट उद्देश्य अपरिहार्य हुने उल्लेख गर्नुभयो। साथै मोबाइल फोन र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले अध्ययनमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले समयको उचित व्यवस्थापन गर्न सुझाव दिनुभयो।
सामाजिक विकास समितिका संयोजक काले गोलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष टासी लामाले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै संयोजक गोलेले विद्यार्थीहरूको सफलता गाउँपालिकाको समग्र शैक्षिक प्रगतिसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरित र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.