१० जेठ २०८३, आइतवार

अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मान

काठमाडौं । काठमाडौँको बौद्धमा अवस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ। प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्व तथा प्रा.डा. राजाराम प्रधानाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उपलब्धिको उच्च मूल्याङ्कन गर्दै अभिनन्दन गरिएको हो।

कार्यक्रमको प्रारम्भमा अरुणिमा माध्यमिक विद्यालय, बौद्धका प्रधानाध्यापक बुद्धिप्रसाद रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न विद्यालय प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सबैको संयुक्त प्रयास आवश्यक रहने धारणा राख्नुभयो। उहाँले गुणस्तरीय शिक्षाको विकासमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

सम्मान कार्यक्रममा अरुणिमा माध्यमिक विद्यालय, बौद्धका १०४ जना, नव अरुणिमा माध्यमिक विद्यालय, आरुबारीका ४८ जना तथा अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालय, महाङ्कालका ३० जना गरी कुल १८२ जना एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

यस अवसरमा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा नव अरुणिमा माध्यमिक विद्यालयका अदिती श्रेष्ठ, आयुषा न्यौपाने, तेन्जिला लामा, मानुषी चालिसे र समिप बुढाथोकी, अरुणिमा शिक्षा सदनका प्रनभ पौडेल तथा अरुणिमा माध्यमिक विद्यालय, बौद्धकी रोनिका प्रधान रहेका थिए।

प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले सफल विद्यार्थीहरूलाई बधाई दिँदै प्रतिष्ठानले सञ्चालन गरिरहेका शैक्षिक गतिविधि तथा भावी योजनाबारे जानकारी गराउनुभयो। प्रमुख अतिथि प्रा.डा. प्रधानाङ्गले शिक्षाको क्षेत्रमा अरुणिमा प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

नव अरुणिमा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद बरालले एसईईपछि कक्षा ११ र १२ का लागि विषय तथा विद्यालय छनोट गर्दा विद्यार्थीहरू सचेत हुनुपर्ने सुझाव दिनुभयो। उहाँले अरुणिमा माध्यमिक विद्यालय उच्च माध्यमिक तह अध्ययनका लागि उपयुक्त शैक्षिक गन्तव्य भएको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, अरुणिमा अलुम्नाई एसोसिएसनका अध्यक्ष जितेन्द्र श्रेष्ठले पूर्वविद्यार्थीहरूको संस्थागत योगदानबारे चर्चा गर्दै सम्मानित विद्यार्थीहरूलाई आगामी जीवन यात्रामा आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

कार्यक्रमका सभापति भीमानन्द ढुङ्गानाले अरुणिमा शैक्षिक प्रतिष्ठानलाई देशकै अग्रणी शैक्षिक गुठीका रूपमा विकास गर्ने लक्ष्यका साथ संस्था अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले सफल विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण प्रतिष्ठान परिवारलाई बधाई ज्ञापन गर्दै सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

विद्यार्थीहरूको तर्फबाट तीनवटै विद्यालयका उत्कृष्ट नतिजा हासिल गरेका छात्र–छात्राहरूले आफ्नो सिकाइ अनुभव साझा गर्दै सफलता प्राप्त गर्न सहयोग पुर्‍याउने अभिभावक, शिक्षक तथा प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य तथा सांगीतिक कार्यक्रमले वातावरणलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो। पाँच सयभन्दा बढी विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको उक्त समारोहको सञ्चालन नव अरुणिमा माध्यमिक विद्यालयकी शिक्षिका पार्वती राउतले गर्नुभएको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.