९ जेठ २०८३, शनिवार

हेलम्बुमा रैथाने बाली संरक्षण अभियान : कृषि जैविक विविधता मेलाबाट सामुदायिक बिउ बैंक स्थापनामा पहल

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ किउलमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर प्रतियोगितात्मक कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८३ आयोजना गरिएको छ । स्थानीय स्तरमा उत्पादन हुँदै आएका रैथाने बाली, परम्परागत बिउबिजन तथा अर्गानिक खेती प्रणालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

हेलम्बु क्षेत्रलाई परम्परागत कृषि अभ्यास, मौलिक बिउ तथा विविध खेती प्रणालीका दृष्टिले महत्वपूर्ण मानिन्छ । तर पछिल्ला समयहरूमा आधुनिक तथा हाइब्रिड बिउको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा धान, मकै, कोदो, फापर, सिमी लगायतका स्थानीय जातका बालीहरू क्रमशः हराउने अवस्थामा पुगेका छन् । यही चुनौतीलाई ध्यानमा राख्दै संरक्षणमुखी अवधारणासहित मेला आयोजना गरिएको बताइएको छ ।

मेलाको अवलोकनका क्रममा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ले स्थानीय बिउबिजन र अर्गानिक उत्पादन हेलम्बुको पहिचान र सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कृषि जैविक विविधता जोगाउनु भनेको खाद्य उत्पादन मात्र नभई स्थानीय संस्कृति, सीप, ज्ञान र परम्परागत कृषि प्रणालीलाई सुरक्षित राख्नु पनि भएको बताउनुभयो । साथै आगामी दिनमा सामुदायिक बिउ बैंक स्थापना, रैथाने बिउको संकलन तथा अर्गानिक खेती विस्तारलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि विज्ञ दिपक रिजाल ले स्थानीय बिउ हराउँदै जाँदा त्यससँग जोडिएको पुस्तान्तरणीय कृषि ज्ञानसमेत संकटमा पर्ने खतरा रहेको औँल्याउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनको असर कम गर्न, खाद्य सुरक्षालाई मजबुत बनाउन तथा किसानलाई आत्मनिर्भर बनाउन कृषि जैविक विविधताको संरक्षण अपरिहार्य रहेको छ । उहाँले सामुदायिक बिउ बैंक अहिलेको आवश्यकता भएको समेत बताउनुभयो ।

त्यस्तै वडा नं. २ का अध्यक्ष पेम्बा लामा ले किसानले उत्पादन गरेका स्थानीय तथा अर्गानिक वस्तुलाई व्यवस्थित बजारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । आगामी दिनमा स्थानीय हाटबजारलाई प्रभावकारी रूपमा सञ्चालन गरी उत्पादित वस्तुको बजारीकरणलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो । उहाँले कृषि जैविक विविधता संरक्षणमा समुदायको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुने भन्दै स्थानीय तह, किसान र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मेलाअन्तर्गत जैविक विविधता विषयक गीत प्रतियोगिता तथा कृषि प्रदर्शनी प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । सहभागी समूहहरूले रैथाने बाली संरक्षण, अर्गानिक खेती र स्थानीय बिउबिजनको महत्वलाई सांस्कृतिक तथा प्रदर्शनीमार्फत प्रस्तुत गरेका थिए । दुवै प्रतियोगिताका विजेताहरूलाई समान पुरस्कार प्रदान गरिएको थियो । प्रथम हुने समूहले १० हजार रुपैयाँ, दोस्रोले ८ हजार, तेस्रोले ६ हजार तथा सान्त्वना प्राप्त समूहले ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

गीत प्रतियोगितामा इच्छेस्वरी महिला बचत तथा कृषि समूह प्रथम भएको थियो भने ह्योल्मो आमायाङ्री कृषक समूह हेलम्बु–१ तिम्बु दोस्रो, फुलबारी महिला कृषक समूह हेलम्बु–६ तेस्रो र सेराबेसी महिला समूह हेलम्बु–३ सान्त्वना स्थानमा रहेका थिए ।

त्यसैगरी कृषि प्रदर्शनीतर्फ इच्छेस्वरी महिला समूह हेलम्बु–६ थापाटार तथा गंगा महिला कृषक समूह संयुक्त रूपमा प्रथम बनेका छन् । सेराबेसी महिला कृषक समूह दोस्रो, जमुना महिला कृषक समूह तेस्रो तथा मनकामना महिला कृषक समूह हेलम्बु–७ सान्त्वना भएका छन् ।

गाउँपालिकाभित्रका २८ वटा समूहको सहभागिता रहेको मेलामा स्थानीय तरकारी, रैथाने बिउबिजन, अर्गानिक उत्पादन, लोपोन्मुख कृषि सामग्री तथा परम्परागत कृषि प्रणालीसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिएको थियो । यस कार्यक्रमले स्थानीय उत्पादनको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन तथा बजारीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कलाकारहरू राजेन्द्र भण्डारी, स्मृति गौतम तथा बिनिता भण्डारी ले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता तथा जष्ट नेपाल फाउन्डेसन का कार्यकारी निर्देशक गोपाल लामा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका कर्मचारी श्याम शर्मा लामिछाने का अनुसार कार्यक्रमको दीर्घकालीन उद्देश्य कृषि जैविक विविधताको संरक्षण, स्थानीय बिउबिजनको अभिलेखीकरण, रैथाने बाली प्रवर्द्धन, अर्गानिक खेती विस्तार तथा सामुदायिक बिउ बैंक स्थापना गर्नु रहेको छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.