काठमाडौँ । स्थानीय तहमा न्यायिक सेवालाई अझ प्रभावकारी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने उद्देश्यसहित Chandragiri र Melamchi नगरपालिकाबीच न्यायिक समितिका कार्यप्रणाली तथा असल अभ्यासबारे अन्तरपालिका अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका कानुन शाखा प्रमुख चिरञ्जीवी खड्काले न्यायिक समितिमार्फत सञ्चालन गरिएका विभिन्न सुधारात्मक अभ्यासबारे जानकारी गराउनुभयो। उहाँले न्यायिक प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट कार्यविधि निर्माण, नियमित इजलास सञ्चालन, दक्ष मेलमिलापकर्ताको परिचालन तथा प्रविधिमैत्री सेवा प्रणालीलाई प्राथमिकतामा राखिएको बताउनुभयो। साथै, स्थानीय विवाद समाधानलाई संस्थागत गर्न “न्यायिक समिति सम्बन्धी कार्यविधि ऐन, २०७५” कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार घर–जग्गा, बाटो, सीमाना विवाद, घरेलु हिंसा लगायतका मुद्दालाई संवाद र मेलमिलापमार्फत छिटो समाधान गर्ने अभ्यासलाई नगरपालिकाले प्रभावकारी रूपमा अघि बढाइरहेको छ।
त्यसैगरी मेलम्ची नगरपालिकाकी न्यायिक सहजकर्ता अस्मिता ढकाल अर्यालले मेलम्चीको न्यायिक अभ्यास प्रस्तुत गर्दै स्थानीय तहमै सरल, सहज र छरितो न्याय सेवा उपलब्ध गराउने प्रयासबारे जानकारी दिनुभयो। उहाँले न्यायिक समितिको पहुँच वडा स्तरसम्म विस्तार गरी समुदायमै मेलमिलापको संस्कार विकास गर्न नगरपालिकाले विशेष पहल गरिरहेको बताउनुभयो। साथै सेवा प्रवाहमा पारदर्शिता, सहज पहुँच र उत्तरदायित्वलाई केन्द्रमा राखेर न्यायिक संयन्त्रलाई थप सुदृढ बनाइएको जानकारी दिनुभयो।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक बसन्ती श्रेष्ठले न्याय सम्पादन स्थानीय सरकारको अत्यन्त संवेदनशील दायित्व भएको उल्लेख गर्दै जनविश्वास कायम राख्न अनुभव आदान–प्रदान, क्षमता अभिवृद्धि र संस्थागत सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
मेलम्ची नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा प्रधानले यस्ता कार्यक्रमले स्थानीय तहबीच सिकाइ र सहकार्यको वातावरण सिर्जना गर्ने बताउँदै न्यायिक समितिका कार्यलाई अझ परिणाममुखी बनाउन अनुभव साटासाटलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
दुवै नगरपालिकाका जनप्रतिनिधि तथा न्यायिक शाखाका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय न्याय प्रणालीलाई थप सशक्त, विश्वासिलो र नागरिकमुखी बनाउने विषयमा व्यापक छलफल भएको थियो।
कार्यक्रमले दुई नगरपालिकाबीच न्यायिक क्षेत्रको सहकार्यलाई अझ मजबुत बनाउँदै स्थानीय स्तरमा प्रभावकारी न्याय सम्पादनका लागि सकारात्मक आधार तयार गरेको विश्वास गरिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.