बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा निर्माणाधीन ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी प्रमोटर शेयर वितरण गर्ने तयारी अघि बढाएको छ। आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्की ले आयोजना प्रभावित बासिन्दालाई सहज र प्राथमिक पहुँचसहित लगानीको अवसर उपलब्ध गराइने जानकारी दिएका छन्।
आयोजनाको करिब ७० प्रतिशत निर्माण सम्पन्न भएपछि मात्रै स्थानीयवासीबाट प्रमोटर सेयरबापतको रकम संकलन गरिने योजना रहेको छ। यस व्यवस्थाले प्रभावित नागरिकलाई तत्काल आर्थिक भार नपर्ने र आयोजना प्रगतिसँगै विश्वस्त भएर लगानी गर्न सक्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ।
भोटेकोशी–५ आयोजनाबाट बाह्रबिसे नगरपालिकाका वडा नं. ३, ४, ५, ८ र ९ प्रत्यक्ष प्रभावित क्षेत्रका रूपमा रहेका छन्। ती वडाका स्थानीयवासीले प्राथमिकताका आधारमा प्रमोटर सेयर खरिद गर्न पाउनेछन्। आयोजना सञ्चालनमा आएपछि उनीहरू केवल लगानीकर्ता मात्र नभई लाभांश प्राप्त गर्ने शेयरधनीका रूपमा समेत दीर्घकालीन आर्थिक लाभ लिन सक्नेछन्।
यद्यपि, आयोजनासम्बन्धी भ्रमपूर्ण तथा नकारात्मक प्रचारले स्थानीय हितमै असर पुग्न सक्ने भन्दै आयोजना पक्षले चिन्ता व्यक्त गरेको छ। आयोजना व्यवस्थापनका अनुसार बाहिरी क्षेत्रका केही व्यक्तिहरूले स्थानीय जनतालाई अनावश्यक रूपमा उक्साउने तथा आन्दोलनतर्फ धकेल्ने प्रयास गरिरहेका छन्। यस प्रकारका गतिविधिले भविष्यमा स्थानीयले पाउने रोजगारी, सेयर सुविधा तथा विकासका अवसर प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ।
आयोजनाले स्थानीय समुदायसँग सहकार्य, सहभागिता र पारदर्शिताका आधारमा काम अघि बढाउँदै क्षेत्रीय विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.