२३ वैशाख २०८३, बुधवार

सुकुटे क्षेत्रमा अवाञ्छित गतिविधिप्रति पर्यटन व्यवसायीको गम्भीर चिन्ता

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सुकुटे बीच क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गइरहेका बेला त्यहाँ देखिएका केही अवाञ्छित गतिविधिप्रति होटल तथा पर्यटन व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले एक प्रेस विज्ञप्ति जारी गर्दै सुकुटे क्षेत्रमा आफूलाई पत्रकार बताउने केही युट्युब सञ्चालकहरूले रातको समयमा होटल तथा रिसोर्टहरूमा अनधिकृत रूपमा प्रवेश गरी पर्यटकहरूलाई असहज बनाउने, व्यवसायमा अवरोध सिर्जना गर्ने तथा पाहुनामाथि अमर्यादित व्यवहार गर्ने गतिविधि बढेको जनाएको छ। संघका अनुसार यस्ता क्रियाकलापले पर्यटकको सुरक्षामा प्रश्न उठ्नुका साथै नेपालको पर्यटन क्षेत्रको छविमा नकारात्मक असर पार्न सक्ने जोखिम बढेको छ।

भोटेकोशी नदी किनारमा अवस्थित सुकुटे बीच प्राकृतिक सौन्दर्य, जलयात्रा (र्‍याफ्टिङ) लगायतका साहसिक गतिविधिका कारण लोकप्रिय बन्दै गएको छ। पछिल्लो समय होटल, रिसोर्ट र रेष्टुरेन्ट व्यवसायको तीव्र विस्तारसँगै यो क्षेत्र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै आएको छ।

संघले पर्यटकहरूलाई शान्त, सुरक्षित र सहज वातावरणमा बस्न पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसमा हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, यदि कुनै व्यवसायीबाट कानुनविपरीत कार्य भएको पाइएमा त्यसको समाधान कानुनी प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिँदै गैरकानुनी ढंगले हस्तक्षेप गर्नु अनुचित भएको बताइएको छ।

प्रेस विज्ञप्तिमा सुकुटे क्षेत्रको संरक्षण, प्रवर्द्धन र दिगो विकास सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गरिएको छ। यस्ता घटनाले समग्र पर्यटन क्षेत्रमै नकारात्मक प्रभाव पार्ने भएकाले संघले स्थानीय, प्रदेश तथा संघीय सरकारसँग तत्काल ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको छ।

संघले आगामी दिनमा यस्ता अवाञ्छित गतिविधि दोहोरिन नदिन सरकारसँग ठोस पहलको अपेक्षा व्यक्त गर्दै पर्यटन व्यवसायीहरू सरकारसँग सहकार्य गर्दै देशको पर्यटन प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.