मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सञ्चालन गरिएको तीनदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। महिलाहरूको प्रजनन स्वास्थ्य, नसर्ने रोग तथा क्षयरोगको पहिचानलाई प्राथमिकतामा राखेर आयोजना गरिएको उक्त शिविरबाट ३५३ जना स्थानीय बासिन्दाले सेवा लिएका छन्।
गाउँपालिकाको स्वास्थ्य शाखाको पहलमा सुरु भएको शिविर वैशाख १८ गते वडा नं. ५ स्थित गुन्सा स्वास्थ्य चौकीबाट प्रारम्भ भएको थियो, जहाँ ७६ जनाले सेवा प्राप्त गरे। दोस्रो दिन वैशाख १९ गते वडा नं. ३ को भोताङ स्वास्थ्य चौकीमा १५० जनाले स्वास्थ्य सेवा लिए भने अन्तिम दिन वैशाख २० गते पाँचपोखरी प्राथमिक अस्पतालमा सञ्चालन गरिएको कार्यक्रममा १२७ जना सहभागी भए।
शिविरमा सहभागी स्थानीय देवकी खड्काले यसपटकको सेवा व्यवस्थापन, गुणस्तर र पहुँच अघिल्ला कार्यक्रमभन्दा सुधारिएको अनुभव भएको बताइन्। स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले शिविरको उद्देश्य केवल रोग उपचारमा सीमित नभई सम्भावित जोखिम पहिचानका लागि नियमित स्वास्थ्य परीक्षणमा समेत जोड दिएको जानकारी दिए।
कार्यक्रमअन्तर्गत ३० वर्षभन्दा माथिका महिलाहरूको प्रजनन स्वास्थ्य जाँच, पाठेघरको मुखको क्यान्सर (HPV-DNA) परीक्षण र स्तन क्यान्सर जाँच गरिएको थियो। साथै पाठेघर खस्ने, आङ खस्ने तथा पिसाब चुहिने जस्ता समस्याहरूको पहिचान गरी परामर्श सेवा पनि प्रदान गरिएको थियो।
त्यसैगरी, ३० वर्षमाथिका व्यक्तिहरूमा नसर्ने रोगहरूको परीक्षण र उपचार, गर्भवती महिलाहरूका लागि भिडियो एक्सरे (ROUSG), परिवार नियोजन सेवाअन्तर्गत इम्प्लान्ट जडान तथा सम्भावित क्षयरोग बिरामीहरूको खकार परीक्षणका लागि नमुना संकलन गरिएको थियो। सामान्य बिरामीहरूलाई आवश्यक परीक्षण, औषधि तथा परामर्श सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो।
पाँचपोखरी प्राथमिक अस्पतालका प्रशासन प्रमुख सरोज धितालले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता शिविरहरू प्रभावकारी माध्यम बन्ने बताएका छन्। स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले समयमै रोग पहिचान, उपचार तथा जनचेतना वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.