२० वैशाख २०८३, आइतवार

वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाइ

मेलम्ची । त्रिशक्ति युवा क्लब, मेलम्ची–९ को आयोजनामा सम्पन्न मेलम्ची नगरस्तरीय वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबले जितेको छ ।

रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै योङ स्टारले दुवाचौर सामुदायिक युवा क्लबलाई २५–२१, २५–२० र २५–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो ।

प्रतियोगितामा दुवाचौर क्षेत्रकै टोलीहरूको दबदबा देखिएको छ । दुवाचौर सामुदायिक युवा क्लब दोस्रो स्थानमा सीमित हुँदा सोही वडाको सिर्जनशील युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ । विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमशः एक लाख, पचास हजार र पच्चीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यससँगै शीर्ष तीनै स्थान मेलम्ची–७ दुवाचौरका टोलीहरूले कब्जा गर्दै कुल एक लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि आफ्नो वडाभित्रै भित्र्याएका छन् । एउटै वडाका तीनै टोली शीर्ष स्थानमा रहनु प्रतियोगिताको विशेष उपलब्धि मानिएको छ ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा त्रिशक्ति युवा क्लबको आयोजनामा जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताले स्थानीय खेलकुद विकास, युवाबीच एकता अभिवृद्धि तथा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन बैशाख १८ गते मेलम्ची नगर प्रमुख आइतमान तामाङले गर्नुभएको थियो । समापन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाअध्यक्ष किरणदिप खड्कालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.