१९ वैशाख २०८३, शनिवार

शारदा पूर्व विद्यार्थी समाज’को अधिवेशन भक्तपुरको डोलेश्वरमा

सन्तोष बोहरा, भक्तपुर ।  श्री शारदा माध्यमिक विद्यालय, बाह्रविसेका पूर्व विद्यार्थीहरूको साझा संस्था ‘शारदा पूर्व विद्यार्थी समाज’को अधिवेशन भक्तपुरको डोलेश्वरमा सम्पन्न भएको छ। उक्त अधिवेशनले नानीमाया थापालाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ। उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ,सचिव माधव नेपाल,सहसचिव पवन जंङ्ग पाण्डे,कोषाध्यक्ष विश्वास श्रेष्ठ, सहकोषाध्यक्ष सुनिता श्रेष्ठ, सदस्यहरु सुशिला देवी कोइराला,रामेश्वर आचार्य, यविन्द्र श्रेष्ठ, देवी बुढाथोकी, सुरेशलाल शाक्य,इ.सुशन राउत,रामहरी बस्नेत,इन्द्र प्रसाद नेपाल, इन्दिरा पौडेल,हिरा बहादुर सापकोटा,संचिता पौडेल,मैया श्रेष्ठ(कमला),श्रृष्टीना शाक्य रहेका छन् भने सल्लाहकार परिषद्मा केदार क्षेत्रीको संयोजकत्वमा नरेश लाल श्रेष्ठ,लिलाधर भण्डारी, भुपेन्द्र विक्रम थापा सदस्य रहनु भएका छन् ।

कार्यक्रममा देशका विभिन्न स्थानबाट सहभागी भएका पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले समाजप्रति उनीहरूको गहिरो लगाव र प्रतिबद्धता झल्काएको थियो।

अधिवेशनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित समितिमा विभिन्न पेशा, अनुभव र पृष्ठभूमिका पूर्व विद्यार्थीहरूलाई समेटिएको छ, जसले समाजलाई अझ प्रभावकारी र सक्रिय बनाउने विश्वास लिइएको छ। कार्यक्रममा सहभागीहरूले विद्यालयप्रतिको आफ्नो स्मृति, योगदान र भावनात्मक सम्बन्धबारे पनि विचार व्यक्त गरेका थिए।

नव निर्वाचित अध्यक्ष नानीमाया थापाले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै विद्यालयको समग्र विकासका लागि रचनात्मक तथा दीर्घकालीन योजनाहरू अघि बढाइने बताउनुभयो। उहाँले विशेष गरी सिन्धुपाल्चोक जिल्लाको पुरानो र ऐतिहासिक शैक्षिक संस्था श्री शारदा माध्यमिक विद्यालयलाई शैक्षिक, भौतिक तथा प्राविधिक रूपमा सुदृढ बनाउन पूर्व विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

थापाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, आवश्यक पूर्वाधार विकास गर्न तथा विभिन्न सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्न समाजले पहल गर्ने जानकारी दिनुभयो। साथै, पूर्व विद्यार्थीहरूबीच आपसी समन्वय, सहकार्य र नेटवर्किङलाई मजबुत बनाउँदै विद्यालयसँगको सम्बन्धलाई अझ प्रगाढ बनाइने उहाँको भनाइ थियो।

कार्यक्रममा अन्य वक्ताहरूले पनि पूर्व विद्यार्थी समाजको भूमिका केवल स्मृतिमा सीमित नभई विद्यालयको वर्तमान र भविष्य निर्माणमा महत्वपूर्ण हुने धारणा राखेका थिए। उनीहरूले आर्थिक, बौद्धिक तथा प्राविधिक सहयोगमार्फत विद्यालयलाई नमुना शैक्षिक संस्था बनाउन सकिने विश्वास व्यक्त गरे।

यस अधिवेशनले नयाँ नेतृत्व चयनसँगै समाजलाई थप सक्रिय, संगठित र उद्देश्यपरक बनाउने अपेक्षा गरिएको छ। पूर्व विद्यार्थीहरूको साझा प्रयासले विद्यालयको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.