सिन्धुपाल्चोक । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बिहीबार फ्याफुल्ल युवा क्लब, डाँडागाउँमा आयोजना गरिएको उक्त शिविरबाट कुल ६५३ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा बलेफी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो। शिविरमा सामान्य स्वास्थ्य जाँचसँगै बालरोग, नाक–कान–घाँटी, आँखा, दाँत तथा मुखसम्बन्धी सेवा प्रदान गरिएको थियो। साथै क्षयरोग परीक्षण (स्क्रिनिङ), एक्स–रे सेवा, स्त्री तथा प्रसूति सेवा, आयुर्वेद उपचार, परामर्श तथा आवश्यक औषधि वितरणसमेत गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेका अनुसार आर्थिक समस्या र दुर्गम स्थानका कारण अस्पतालसम्म पुग्न नसकेका स्थानीय बासिन्दाहरूले यस शिविरबाट उल्लेखनीय लाभ प्राप्त गरेका छन्।
कार्यक्रम गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा उपाध्यक्ष सरु लामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, वडा अध्यक्ष सुर्जे तामाङ तथा फ्याफुल्ल युवा क्लबका अध्यक्ष देबेन्द्र तामाङ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यसअघि बुधबार बलेफी गाउँपालिका–१ जलविरेमा सम्पन्न स्वास्थ्य शिविरबाट ७६० जनाले सेवा लिएका थिए।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.