जलविरे । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१, जलविरेमा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत सञ्चालन गरिएको उक्त शिविर जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा बलेफी गाउँपालिकासहित विभिन्न निकायको सहकार्यमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न गरिएको हो।
शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले सामान्य रोग उपचार, बालरोग, नाक–कान–घाँटी, आँखा, दाँत तथा मुखसम्बन्धी सेवा, क्षयरोग परीक्षण, एक्स-रे, स्त्री तथा प्रसूति सेवा, स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरेको थियो।
जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईका अनुसार शिविरको पहिलो दिनमै ७६० जनाले सेवा प्राप्त गरेका छन्। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले दुर्गम क्षेत्रका तथा आर्थिक अभावका कारण अस्पताल पुग्न नसकेका बिरामीहरूका लागि शिविर निकै उपयोगी भएको बताए। साथै, भोलि वडा नं. ४ मा पनि यस्तै शिविर सञ्चालन गरिने जानकारी दिइएको छ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शिविरमा परीक्षणपछि कुनै गम्भीर रोग देखिए प्रदेश सरकारले उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगत वर्षहरूझैं दीर्घरोगीलाई लक्षित गर्दै यस्ता शिविरहरू निरन्तर सञ्चालन गरिँदै आएको उल्लेख गरे।
मन्त्री थापा मगरले जलविरे स्वास्थ्य केन्द्रको भवन निर्माण भइसकेको भए पनि अब दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। छिमेकी पालिकासँग समन्वय गर्दै सेवा विस्तार गर्न आग्रह गर्दै प्रदेश सरकारले पनि सहयोग गर्ने बताए। जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सुरु भइसकेको र त्यसलाई व्यवस्थित गरी स्थानीय तहसम्म पुर्याइने उनको भनाइ थियो।
उनले प्रदेश सरकारले ‘एक जिल्ला–एक स्वास्थ्य शहर’ र ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ जस्ता कार्यक्रम अघि बढाएको जानकारी दिँदै ९८ प्रकारका निःशुल्क औषधि प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउन प्रयास भइरहेको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्यहरू सरल सहयात्री पौडेल र अमृता नेपालले शिविर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ बढी गाउँहरूमा यस्ता कार्यक्रम विस्तार गरिने बताए। उनीहरूले स्वास्थ्य संस्थाहरूमा पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था गर्न प्रदेश सरकारसँग माग पनि राखे।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बजगाईले मन्त्रालय र स्थानीय तहको सहकार्यमा यस्ता शिविरहरू निरन्तर सञ्चालन भइरहेको बताउँदै थप उपचार आवश्यक परेका बिरामीलाई चौतारा, भक्तपुर र धुलिखेल लगायतका अस्पतालहरूमा रिफर गरिने जानकारी दिए।
गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले स्वास्थ्य केन्द्रको भवन बने पनि जनशक्ति र स्रोतको कमी रहेको भन्दै प्रदेश सरकारसँग सहयोगको माग गरे। उनले आवश्यक चिकित्सक, कर्मचारी र उपकरण उपलब्ध गराउन आग्रह गरे।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं. १ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष हुप बहादुर खड्काले भौतिक संरचना तयार भइसके पनि आवश्यक जनशक्ति र उपकरणको अभावले सेवा प्रवाहमा समस्या भइरहेको बताए।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.