मेलम्ची । सिन्धुपाल्चोक जिल्लामा “एक जिल्ला एक स्वस्थ शहर” अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको पहलमा सोमबार जिल्ला स्तरीय समिति बैठकसँगै उक्त कार्यक्रम आयोजना गरिएको हो।
बागमती प्रदेशका १३ जिल्लामध्ये प्रत्येक जिल्लाबाट एक-एक स्थानीय तह छनोट गर्ने योजनाअनुसार सिन्धुपाल्चोकबाट मेलम्ची नगरपालिका छनोटमा परेको छ। कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा चौतारास्थित जिसस सभाहलमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समिति उपप्रमुख पदमनाथ नेपाल, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी तथा विश्व स्वास्थ्य संगठन (WHO) बागमती प्रदेशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले “स्वस्थ शहर” अभियानको उद्देश्य र कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी गराउनुभयो।
यसै अवसरमा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयद्वारा तयार गरिएको “स्वस्थ शहर कार्यान्वयन निर्देशिका २०८२” सम्बन्धी जानकारी पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला स्तरको समन्वय समिति समेत गठन गरिएको छ।
प्रदेश सरकारले सबै १३ जिल्लामा “एक जिल्ला एक स्वस्थ शहर” घोषणा गर्ने लक्ष्य लिएको छ। यसका लागि सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख तथा सरोकारवाला निकायबीच दिगो, सुरक्षित र स्वस्थ शहर निर्माणका लागि आवश्यक योजना निर्माण र कार्यान्वयनबारे छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेका छन्। हाल यो अभियान प्रदेशका १३ वटै जिल्लाका १३ स्थानीय तहमा लागू भइसकेको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.