२४ माघ २०८२, शुक्रवार

सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न

२३ माघ, मेलम्ची, सिन्धुपाल्चोक । अपाङ्गता भएका महिला, बालबालिका तथा संकटमा रहेका व्यक्तिहरूको सशक्तीकरणलाई लक्षित गर्दै सञ्चालन गरिएको परियोजनाअन्तर्गत भएका क्रियाकलाप र त्यसबाट प्राप्त उपलब्धिको समीक्षा गर्न सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममार्फत परियोजनाले अपनाएको कार्यविधि, प्रभावकारिता र समुदायमा परेको प्रत्यक्ष प्रभावबारे छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले अपाङ्गता तथा सीमान्तकृत वर्गलाई लक्षित यस्ता कार्यक्रमहरूले उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सेवाबाट वञ्चित नागरिकलाई मूलधारमा समेट्न परियोजनाले ठोस योगदान पुर्‍याएको उहाँको भनाइ थियो ।

मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले संस्थामार्फत सञ्चालन भइरहेका गतिविधिले अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको उल्लेख गर्नुभयो । मानवीय संवेदनशीलता र परिणाममुखी उद्देश्यका साथ गरिएका यस्ता कार्यमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ बलियो बनाइने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले परियोजनाका क्रियाकलाप कागजी प्रतिवेदनमा मात्र सीमित नभई समुदायको वास्तविक जीवनसँग प्रत्यक्ष जोडिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित आयआर्जन, सीप विकास र पुनःस्थापना सम्बन्धी कार्यक्रमबाट समुदायले प्रत्यक्ष लाभ लिएको उहाँको धारणा थियो । परियोजना अनुकरणीय र प्रभावकारी रहेको उहाँले मूल्याङ्कन गर्नुभयो ।

वडा नम्बर १३ का वडा अध्यक्ष श्रीराम घोरासैनीले स्थानीय तह र सरोकारवालाबीचको सहकार्यमा सञ्चालन गरिएका परियोजना दिगो र प्रभावकारी हुने उल्लेख गर्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । कार्यक्रममा सहभागी अधिकांशले संस्थाले उपलब्ध गराएको सीपमूलक तालिम, फिजियोथेरापी सेवा तथा अन्य सहयोगात्मक गतिविधिबारे सकारात्मक प्रतिक्रिया दिएका थिए ।

त्यसैगरी, टुकी संघ सुनकोशीका अध्यक्ष माधवप्रसाद पौडेलले परियोजनामार्फत अपाङ्गता भएका महिला, बालबालिका तथा संकटमा रहेका व्यक्तिहरूको जीवनमा आशालाग्दो परिवर्तन देखिएको बताउनुभयो । समुदायको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाइने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

सामाजिक परीक्षण कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.