२३ माघ, मेलम्ची, सिन्धुपाल्चोक । प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालय, मेलम्चीको ३४औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रगति बाल उत्सव समारोह–२०८२ भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको उक्त समारोहमा शैक्षिक, सांस्कृतिक तथा सृजनात्मक कार्यक्रमहरूको आकर्षक प्रस्तुति गरिएको थियो ।
समारोहको उद्घाटन मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, अनुशासन र संस्कारसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षा, सीप र संस्कारको समन्वय अपरिहार्य रहेको उहाँको धारणा थियो । प्रगति विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र अनुशासनमा दिएको प्राथमिकता प्रशंसनीय रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाकी उप–प्रमुख उमा प्रधानले विद्यालयले बालबालिकाको प्रतिभा पहिचान र प्रवर्द्धन गर्ने सकारात्मक वातावरण निर्माण गरेको बताउनुभयो । यस्ता बाल उत्सव कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता र सृजनशीलताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । नगरपालिकाले यस्ता शैक्षिक प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रगतिका गतिविधिहरू अन्य सामुदायिक तथा निजी विद्यालयका लागि पनि उदाहरणीय बन्न सक्ने उप–प्रमुख प्रधानले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक ऋषिराम नेपालका अनुसार समारोहअन्तर्गत दीक्षान्त कार्यक्रम, कक्षोन्नति समारोह, कराते ग्रेडिङ, पुरस्कार वितरण तथा विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति सम्पन्न गरिएको थियो । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।
विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत तथा सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकहरूको मन जित्न सफल भएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख लक्ष्मिप्रसाद रिजाल, विभिन्न विद्यालयका शिक्षकहरू, अभिभावक, स्थानीयवासी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.