२३ माघ २०८२, बिहिवार

अन्तरस्थानीय तह स्तरीय शिक्षक भलिबल प्रतियोगिता

२२ माघ,  मेलम्ची, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–६ मा रहेको श्री तेर्से माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तरस्थानीय तह स्तरीय शिक्षक भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। तेर्से माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा मेलम्ची नगरपालिका, हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकाका शिक्षक टोलीहरू सहभागी छन्।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा चारवटै स्थानीय तहका गरी १७ वटा विद्यालयले सहभागिता जनाएका छन्। पहिलो दिन लिग चरणका खेलहरू सम्पन्न भएका छन्। उद्घाटन खेलमा आयोजक श्री तेर्से माध्यमिक विद्यालयले बाल सुधार माध्यमिक विद्यालयलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ।

त्यसपछि भएका अन्य खेलहरूमा इचोक माध्यमिक विद्यालयले लागर्चे माध्यमिक विद्यालयलाई, जाल्पादेवी माध्यमिक विद्यालयले सर्वोदय माध्यमिक विद्यालयलाई, नवलपुर माध्यमिक विद्यालयले धौलेश्वरी आधारभूत विद्यालयलाई, महेन्द्र माध्यमिक विद्यालयले बतासे माध्यमिक विद्यालयलाई तथा चण्डीका माध्यमिक विद्यालयले भीमेश्वरी माध्यमिक विद्यालयलाई हराउँदै जित दर्ता गरेका छन्।

प्रतियोगिताको औपचारिक उद्घाटन मेलम्ची नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेमबहादुर तामाङसहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थितिमा सम्पन्न भएको थियो। उक्त अवसरमा मेलम्ची नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लक्ष्मीप्रसाद रिजालले प्रतियोगिताको उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै शाखा प्रमुख रिजालले विद्यालयहरू शैक्षिक गतिविधिसँगै अतिरिक्त तथा सिर्जनात्मक कार्यक्रमहरूमा समेत सक्रिय र सफल भइरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा अझ गुणस्तरीय विकासका लागि निरन्तर प्रयास गर्न शुभकामना समेत व्यक्त गर्नुभयो।

शुक्रबार लिग चरणका बाँकी खेलहरू तथा क्वाटरफाइनलका प्रतिस्पर्धा हुनेछन् भने शनिबार फाइनल खेल आयोजना गरिनेछ। विद्यालयको ३५औँ वार्षिक उत्सवको मुख्य कार्यक्रम यही महिनाको २५ गते हुने विद्यालय प्रशासनले जनाएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.