२२ माघ, मेलम्ची, सिन्धुपाल्चोक । स्वर्गीय सिभिल इञ्जिनियर बिनोद नेपालको स्मृतिमा स्थापित बिनोद नेपाल स्मृति फाउन्डेसन ले विगत पाँच वर्षदेखि निरन्तर रूपमा शिक्षा, सामाजिक सेवा तथा मानवीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सोही सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै फाउन्डेसनले यस वर्षको छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
मेलम्ची नगरपालिका अन्तर्गत रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. गङ्गादत्त नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमले आर्थिक रूपमा कमजोर तर अध्ययनमा अब्बल विद्यार्थीहरूलाई शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्य लिएको फाउन्डेसनले जनाएको छ।
कार्यक्रमको औपचारिक सञ्चालन फाउन्डेसनका आजीवन सदस्यले गर्नुभएको थियो भने फाउन्डेसनका सचिव रोहिणीराज नेपालले संस्थाको स्थापना, उद्देश्य तथा हालसम्म सञ्चालन गरिएका सामाजिक कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले फाउन्डेसनप्रति आभार प्रकट गर्दै छात्रवृत्तिले विद्यार्थीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै शिक्षक–शिक्षिका, अभिभावक तथा छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले पनि आ–आफ्नो अनुभूति र धारणा राख्दै फाउन्डेसनको प्रयासको प्रशंसा गरेका थिए।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस्तो सहयोगले आफ्नो अध्ययनलाई अझ निरन्तरता दिन प्रेरणा मिलेको बताउँदै मेहनत र लगनका साथ भविष्यमा समाजका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
शिक्षा र सामाजिक विकासलाई केन्द्रमा राखी अघि बढिरहेको फाउन्डेसनले आगामी दिनहरूमा पनि यस्तै रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने विद्यालय परिवार, सहभागी महानुभावहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति बिनोद नेपाल स्मृति फाउन्डेसनले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.