राजन श्रेष्ठ, माघ १५, बाह्रबिसे, सिन्धुपाल्चोक
नेपाली लेखक संघ केन्द्रीय समितिले सहिद दिवसको अवसर पारेर रचना वाचन तथा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम यही माघ १७ गते शनिबार आयोजना गरिने संघले जनाएको छ।
सहिद दिवसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै साहित्यिक गतिविधिमार्फत सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न साहित्यकारहरूद्वारा सहिदको बलिदान, देशप्रेम, स्वतन्त्रता र सामाजिक न्यायका विषयमा आधारित रचनाहरू वाचन गरिनेछ।
कार्यक्रम सफल बनाउन सम्पूर्ण साहित्यकार, लेखक, कवि तथा साहित्यप्रेमीहरूलाई उपस्थितिका लागि नेपाली लेखक संघले हार्दिक आह्वान गरेको छ। संघका महासचिव सोजो गाउँलेले यस कार्यक्रमले साहित्यकारहरूबीच आपसी सद्भाव, सिर्जनशीलता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहिद दिवसजस्तो महत्वपूर्ण अवसरमा साहित्यिक जमघट हुनु आफैंमा प्रेरणादायी हुने बताउनुभयो।
यसैगरी, संघका केन्द्रीय सचिवालय सदस्य सन्तोष बोहराले सहिदहरूको अमूल्य बलिदानलाई सम्मान गर्दै संघले आगामी दिनहरूमा पनि विभिन्न रचनात्मक तथा साहित्यिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएकाले सहिदहरूको सपना र आदर्शलाई साहित्यमार्फत जगेर्ना गर्न लेखक संघ प्रतिबद्ध रहेको छ।
कार्यक्रममा साहित्यिक छलफल, आपसी भेटघाट र बनभोजसमेत रहने भएकाले सहभागिहरूका लागि यो कार्यक्रम सिर्जनात्मकसँगै आत्मीय बन्ने अपेक्षा गरिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.