दुर्गा ओझा न्यौपाने, माघ १०, काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि काठमाडौं जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यमा बिनोद कुमार गुरुङ उम्मेदवार बन्नु भएको छ । काठमाडौं जिल्ला क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवारका रूपमा श्री बिनोद कुमार गुरुङ मैदानमा उत्रिनु भएको हो । उहाँ मानव महाशक्ति अभियान, नेपाल तथा राष्ट्रिय एकता दलको साझा प्रतिनिधित्व गर्दै उम्मेदवार बन्नु भएको र उहाँको चुनाव चिन्ह गोलाकार भित्रको तुलसीको मोठ रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नं. १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाका वडा नं. १, २ र ३ तथा तारकेश्वर नगरपालिकाका वडा नं. ३, ४ र ५ गरी जम्मा १० वटा वडाहरू पर्दछन् । उहाँले मतदाताहरूलाई अत्यधिक मतदान गरी आफूलाई विजयी गराउन आग्रह गर्नु भएको छ।
मानव महाशक्ति सिद्धान्त, राष्ट्रियता, एकता र सहकार्यको भावनासहित चुनावी अभियानमा सक्रिय रहेको जनाउँदै उम्मेदवार गुरुङले मानव–केन्द्रित र प्रकृति–केन्द्रित दर्शनका आधारमा स्वदेशमै जन्मिएको विचार र सिद्धान्तमार्फत देश निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
उहाँले नेपाललाई हिमाल, पहाड र तराईको भौगोलिक एकताका आधारमा समृद्ध राष्ट्र बनाउने लक्ष्यसहित लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्दै ‘मानवतन्त्र’ तर्फ अघि बढ्ने अवधारणा प्रस्तुत गर्नु भएको छ। प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र र लोकतन्त्रभन्दा माथि उठेर मानव केन्द्रित शासन प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ।
उम्मेदवार गुरुङले पुरानो–नयाँ सबै राजनीतिक शक्तिहरूलाई राजनीतिक शुद्धीकरणमार्फत सकारात्मक र पवित्र कार्यदिशामा लैजानुपर्ने आवश्यकता औंल्याउँदै, देश बनाउने साझा एजेन्डामा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनु भयो । काठमाडौं क्षेत्र नम्बर ७ का मतदाताहरूलाई सोचविचार गरेर मतदान गर्न आग्रह गर्दै उहाँले “यदि विश्वास लाग्दैन भने पनि असल र इमानदार व्यक्तिलाई रोज्नुस्” भन्ने सन्देश दिनु भएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिनोद कुमार गुरुङले सबै मतदाताहरूलाई अमूल्य मत प्रदान गर्न हार्दिक अनुरोध गर्नु भएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.