माघ ८, चौतारा । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका रास्वपाका भरत प्रसाद पराजुलीले मनोनयन दर्ता गरेपछि आफ्नो पहिलो सार्वजनिक कदम सहिद परिवारसँगको भेटबाट थाल्नु भएको छ। मनोनयन प्रक्रिया सम्पन्न गरेलगत्तै पराजुलीले जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते सहादत प्राप्त गरेका चौतारा साँगाचोकगढी नगरपालिका–१२ निवासी सहिदका परिवारसँग प्रत्यक्ष भेटघाट गर्नु भएको हो । उक्त भेटमा उहाँले सहिदले देखेको सपना, आन्दोलनको मर्म तथा त्यसले उठाएका न्याय, सुशासन र जवाफदेहिताका आवाजलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउने बताउनु भएको छ ।
पराजुलीले सहिदहरू कुनै दलका सीमित प्रतिनिधि नभई राष्ट्रको परिवर्तनकारी चेतनाका प्रतीक भएको उल्लेख गर्दै, उनीहरूको बलिदानलाई भाषणमा मात्र होइन, व्यवहारिक निर्णय र संघर्षमार्फत सम्मान गरिने प्रतिवद्धता जनाउनु भयो ।
भेटका क्रममा उहाँले “यदि जनताको विश्वाससहित निर्वाचित हुने अवसर पाएँ भने सिन्धुपाल्चोकका सबै सहिदहरूको आत्माको माग अनुसार दोषी नरसंहारकारीहरूलाई कानुनी कठघरामा पुर्याउन म पछि हट्नेछैन। सहिदको रगतको मूल्य राज्यले चुकाउनैपर्छ” भन्नु भएको छ ।
उहाँले जेन्जी आन्दोलनले उठाएको आवाज दबाउने नभई संस्थागत गर्दै लैजाने जिम्मेवारी आफूले लिने बताउँदै अन्याय, दण्डहीनता र सत्ताको दुरुपयोगविरुद्ध संसदभित्र र बाहिर निरन्तर संघर्ष जारी राख्ने बताउनु भयो ।
सहिद परिवारले पनि भेटप्रति कृतज्ञता व्यक्त गर्दै अब भावनात्मक आश्वासनभन्दा पनि न्याय सुनिश्चित गर्ने दृढ र इमानदार नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.