८ माघ २०८२, बुधवार

निर्वाचनको कारण एसईईको तालिका परिमार्जन

माघ ७, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका कारण यस वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका परिमार्जन गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले पहिल्यै चैत ७ गतेदेखि सुरु गर्ने भनिएको परीक्षा स्थगित गर्दै अब चैत १९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा चैत २९ गतेसम्म चल्नेछ।

फागुन २१ गते तय गरिएको निर्वाचनका कारण जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम भइरहेकाले प्रश्नपत्र छपाइ प्रभावित भएको बोर्डले जनाएको छ। यही कारणले परीक्षा करिब दुई साता पछाडि सार्नुपरेको बताइएको छ।

यस वर्ष एसईईमा नियमित समूहका करिब ४ लाख ५२ हजार तथा ग्रेडवृद्धिसहित झन्डै ५ लाख १५ हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। सुरक्षा व्यवस्थाका लागि प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा करिब एक हप्ता अगावै जिल्ला प्रहरी कार्यालयमा राख्ने प्रचलन भए पनि यसपटक निर्वाचनमा प्रहरी, शिक्षक र कर्मचारीहरू व्यस्त हुने भएकाले परीक्षा सार्नु अपरिहार्य भएको बोर्डको स्पष्टिकरण छ।

यद्यपि कक्षा १२ को परीक्षा भने यसअघि तोकिएको समयमै सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। एसईई परीक्षा ढिला भए पनि नतिजा भने तय गरिएको समयमै सार्वजनिक गर्ने तयारी रहेको बोर्डको भनाइ छ।

यसैबीच, लोकसेवा आयोगले न्याय, प्रशासन, लेखापरीक्षण, संघीय संसदसहित विभिन्न २८ सेवा समूहका ७३ पदका लागि तय गरिएका परीक्षाहरू पनि हालका लागि स्थगित गरिएको जनाएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.