३ माघ २०८२, शुक्रवार

भोटेनाम्लाङमा नाम्लाङ चिलिङ जात्रा सम्पन्न

माघ २, मेलम्ची सिन्धुपाल्चोक  । पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङमा परम्परादेखि चल्दै आएको नाम्लाङ चिलिङ जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। चिलिङ महादेवको नाममा मनाइने यो जात्रा प्रत्येक वर्ष माघ १ गते आयोजना हुँदै आएको छ, जसले स्थानीय संस्कार र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टासी लामाले सम्बोधन गर्दै मातृभाषा, परम्परा र संस्कृतिको संरक्षण आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो। नयाँ वर्षको आरम्भसँगै उहाँले ल्होछारको शुभकामना व्यक्त गर्दै भोटेनाम्लाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भइरहेको प्रयासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै, उहाँले यहाँ अवस्थित चिलिङ महादेवको ऐतिहासिक पृष्ठभूमिबारे स्थानीयवासी सुजन तामाङले प्रस्तुत गर्नुभएको जानकारीले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष सुके तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा उज्यालो नाम्लाङका उपाध्यक्ष सौरभ तामाङलगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा गाउँपालिका अध्यक्ष लामाले ठूलो ढुङ्गामा निर्माण गरिने ८४ फिट अग्लो बुद्ध मूर्तिका लागि सहयोग गर्न सबैसँग आग्रहसमेत गर्नुभयो।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत सञ्जिव घिसिङ, प्रेम योन्जन, सुशिल तामाङ सञ्जी, तेज थिङ, अग्नि बोम्जन, काजल तामाङ, याङकी बोम्जन, शानया स्याङ्बो, मोडल सृजना तामाङलगायत कलाकारहरूले आफ्नो कला प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। यसका साथै स्थानीय बासिन्दाले झाँकी नृत्य प्रस्तुत गर्दै जात्रालाई झनै रंगीन बनाएका थिए।

कार्यक्रम सफल बनाउन भोटेनाम्लाङ माध्यमिक विद्यालय तथा समिति सल्लाहकार वरदान तामाङको विशेष योगदान रहेको थियो। नुवाकोट, काभ्रे, दोलखा र काठमाडौँलगायत विभिन्न जिल्लाबाट आएका सहभागीहरूको उल्लेखनीय सहभागिताबीच जात्रा समिति अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन शिक्षक वीरबहादुर लामाले गर्नुभएको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.