३ माघ २०८२, शुक्रवार

एसेलुखर्क माविको ७८ औँ वार्षिकोत्सव

माघ २, सिन्धुपाल्चोक ।  एसेलुखर्क माध्यमिक विद्यालयले आफ्नो ७८ औँ स्थापना दिवस विविध कार्यक्रम गरेर सम्पन्न भएको छ। इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शैक्षिक उपलब्धि, चुनौती र भावी दिशाबारे व्यापक छलफल गरेर बिद्यालयको वार्षिक उत्सव सम्पन्न गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले विद्यार्थीको रुचि, क्षमता र भविष्यसँग जोडिने विषय छनोट गरेर शिक्षण प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयले कम्तीमा एक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित शिक्षा प्रणाली सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो। विशेष गरी विद्यालयमा सञ्चालन भइरहेको प्राविधिक शिक्षालाई थप प्रभावकारी र व्यवहारमुखी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो।

शिक्षालाई सामाजिक रूपान्तरणको आधार स्तम्भका रूपमा चित्रण गर्दै उहाँले शिक्षामा सबैको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभयो। विद्यार्थी संख्या घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसका कारण पहिचान गरी समाधान खोज्न स्थानीय सरकार, विद्यालय र समुदाय एकजुट हुनुपर्ने धारणा राख्नुभयो। साथै नजिकिँदै गरेको एसइई परीक्षालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई अनुशासन, मेहनत र आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी पूर्व अध्यक्ष मिना मैयाँ थापाले आफ्नो कार्यकालमा विद्यालयको हितका लागि इमानदार प्रयास गरेको उल्लेख गर्दै नेतृत्व भनेको बोलीभन्दा कर्ममा देखिनुपर्ने बताउनुभयो। अवसर पाएमा आगामी दिनमा पनि विद्यालयको उन्नतिका लागि सक्रिय रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक मिना पाण्डेले गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै वर्तमान चुनौतीहरूलाई सामूहिक प्रयासबाट पार गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य रामप्रसाद गौतमले भावी नेतृत्व सक्षम, ऊर्जाशील र विद्यालयप्रति जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

वार्षिकोत्सवका अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा सम्मान प्रदान गरिएको थियो। यसै क्रममा विद्यालयका प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक अवस्था, भौतिक पूर्वाधार, अभिभावकको सहभागिता तथा आगामी योजनाबारे जानकारी दिनुभयो। हाल इसिडीदेखि कक्षा १२ सम्म ३२४ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी गराउनुभयो।

त्यसैगरी वडा नं. ४, ५ र ६ का कक्षा ३ का विद्यार्थीहरूबीच गणित दौड प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा नवलपुर भ्याली स्कुलकी रितिक्षा शाही प्रथम, एसेलुखर्क माविका सुजल अर्याल द्वितीय र नमोबुद्ध आधारभूत विद्यालयकी ऋतु तामाङ तृतीय स्थान हासिल गर्न सफल भए। विजेता तथा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य कुञ्जरमणि भट्टराईले दिनुभएको थियो। उहाँले विद्यार्थी तथा अभिभावकको सहभागिता अपेक्षाकृत न्यून रहेकोप्रति ध्यानाकर्षण गराउँदै विद्यालयको समग्र प्रगतिका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.