३ माघ २०८२, शुक्रवार

आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८२

माघ २, काठमाडौं । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस रहेको छ । देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको २७औँ संस्करण मनाइने भएको हो । विसं १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मरणमा विसं २०५५ सालदेखि हरेक वर्ष यही दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरिएको हो । यस दिवसले भूकम्पबाट हुने सम्भावित क्षति न्यूनीकरण, सुरक्षित संरचना निर्माण तथा विपद् प्रतिकार्यमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको छ ।

विसं १९९० को भूकम्पले देशभर ठूलो जनधनको क्षति पुर्‍याएको थियो । सो भूकम्पको प्रत्यक्ष त्रासदी अनुभव गर्नेहरू अहिले थोरै मात्र बाँकी भए पनि त्यसले छाडेको पीडा र पाठ अझै स्मरणीय छ । त्यसपछि जन्मिएको नयाँ पुस्ताले भने विसं २०७२ सालमा गएको विनाशकारी भूकम्पको पीडादायी अनुभव भोग्नुपरेको थियो, जसले भूकम्प जोखिमप्रति सबैलाई अझ सचेत बनाएको छ ।

विसं १९९० माघ २ गते दिउँसो ठीक २ बजेर २४ मिनेटमा आएको शक्तिशाली भूकम्पको स्मृतिमा सोही समयलाई केन्द्रमा राख्दै भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । यस दिवसलाई देशव्यापी रूपमा एकरूप, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले भूकम्प सुरक्षा दिवस मार्गदर्शन–२०७१ समेत तर्जुमा गरिएको छ ।

यस वर्ष “भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने मूल नाराका साथ देशभर विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै छन् । विद्यालय, समुदाय, सरकारी तथा गैरसरकारी निकायको सहभागितामा गोष्ठी, छलफल, अन्तरक्रिया, मोक ड्रिल (पूर्वाभ्यास), प्रदर्शनीलगायत कार्यक्रम आयोजना गरिएका छन् ।

भूकम्प जस्तो प्राकृतिक विपद् रोक्न नसकिए पनि यसको जोखिम र क्षति न्यूनीकरण गर्न सकिने भएकाले सुरक्षित भवन निर्माण, पुराना संरचनाको सुदृढीकरण, आपतकालीन पूर्वतयारी र जनसहभागिता अत्यन्त आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन् । यसै उद्देश्यका लागि भूकम्प सुरक्षा दिवसले सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य बढाउँदै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.