दुर्गा ओझा न्यौपाने , माघ २, धुलिखेल । अमेरिका पठाइदिने र सस्तो दरमा अमेरिकी डलर सटही गरिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काभ्रेपलाञ्चोकले बैतडी जिल्लाको पाटन नगरपालिका–६ घर भई हाल ललितपुरको एकान्तकुना बस्दै आएका प्रकाश सिंह विष्टको जाहेरीका आधारमा सिन्धुपाल्चोकका सुबास तामाङ र जकमान तामाङविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अभियोगपत्र दायर गरेको हो ।
अभियोग अनुसार २०८२ भदौ १२ गते बनेपाको चारदोबाटोमा भेटघाटपछि पीडितलाई चाइना टाउन लगेर ठगी गरिएको थियो । पीडित विष्टको भाडाको ट्याक्सीमा चढेका अभियुक्तहरूले आफूहरू अमेरिका पठाउने काम गर्ने दलाल भएको बताउँदै चिनजान बढाएका थिए । उनीहरूले पढाइ भिसा मिलाइदिने तथा अमेरिकी डलर सस्तो दरमा उपलब्ध गराइदिने आश्वासन दिएका थिए ।
विश्वासमा परेका विष्टबाट अभियुक्तहरूले ६ लाख ५३ हजार रुपैयाँ लिएका थिए । तर लामो समयसम्म अमेरिका पठाउने प्रक्रिया अघि नबढेपछि आफू ठगिएको महसुस गरी पीडितले प्रहरी तथा सम्बन्धित निकायमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा अभियुक्तहरूले संगठित रूपमा ठगी गरेको देखिएको सरकारी वकिल कार्यालयको दाबी छ ।
प्रहरीका अनुसार सुबास तामाङलाई २०८२ मंसिर २४ गते सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो भने जकमान तामाङ हाल फरार छन् । यसअघि जकमान तामाङ ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई २०७८ पुष २२ गते ६ महिना कैद, २० हजार जरिवाना र १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सजाय भोगिसकेका पटके कसुरदार भएको खुलेको छ ।
सरकारी वकिल कार्यालयले २०८२ पुष २० गते अभियोगपत्र अदालतमा दर्ता गराएको हो । अदालतले पक्राउ परेका अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिएको छ । मुद्दामा अभियुक्तलाई कानुनबमोजिम सजाय तथा पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
डलर देखाएर बढ्दै गएको ठगी
पछिल्लो समय डलर देखाएर ठगी गर्ने घटनामा तीव्र वृद्धि भएको प्रहरीको भनाइ छ । आकर्षक प्रलोभन, छिटो नाफाको आशा र विदेशी मुद्राप्रतिको विश्वासलाई प्रयोग गर्दै ठग समूह सक्रिय बन्दै गएका छन् । यस्ता घटनामा सर्वसाधारणदेखि व्यवसायीसम्म पीडित बन्ने गरेका छन् ।
ठगीका सामान्य तरिका
ठगहरूले सस्तो दरमा डलर साटिदिने, विदेशबाट आएको डलर तुरुन्त नगदमा बदल्नुपर्ने, बैंकिङ प्रक्रिया झन्झटिलो हुने जस्ता बहानामा मानिसलाई फसाउने गरेका छन् । कतिपय अवस्थामा सुरुमा वास्तविक डलर देखाएर विश्वास जित्ने र पछि नक्कली नोट, कागजको थुप्रो वा खाली बन्डल थमाएर फरार हुने गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पनि यस्ता ठगीका घटना बढ्दै गएका छन् । फेसबुक, ह्वाट्सएप र टेलिग्रामजस्ता प्लेटफर्ममा ‘डलर एक्सचेन्ज’, ‘विदेशी मुद्रा लगानी’ वा ‘छिटो नाफा’ शीर्षकका पोस्टमार्फत सम्पर्कमा आएका व्यक्तिलाई भेटघाटका लागि बोलाई सुनसान स्थानमा लगेर ठगी गर्ने क्रम बढेको पीडितहरूले बताएका छन् ।
“सुरुमा साँचो डलर देखाएर विश्वास दिलाए,” एक पीडितले बताए, “पछि बैंक नजिकै नभएको भन्दै हतार गराइयो । रकम बुझाएपछि मात्र सबै नक्कली रहेको थाहा भयो।”
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.