माघ १, काठमाडौं । लेखक तथा राजनीतिक नेता सरेश नेपालको 'जेल भित्रको संघर्ष' नामक पुस्तक बिमोचचन भएको छ । पञ्चायती व्यवस्थाको दमनकारी शासनविरुद्ध जेलमा बस्नेले गरेको संघर्ष तथा लेखकको जेल भित्रको अनुभव समेटेर लेखिएको संस्मरणात्मक लेखहरु समेटिएको 'जेल भित्रको संघर्ष' पुस्तक बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलिले बिमोचन गर्नु भएको हो । जनताले उठाएको ऐतिहासिक प्रतिरोधको प्रतीक मानिने पिस्कर घटनाको स्मरणमा यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गरिएको छ। माघ १ गते ४२ औँ पिस्कर स्मृति दिवसको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा पिस्कर आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिनुका साथै लेखक तथा राजनीतिक अभियन्ता सरेश नेपालको नयाँ कृति ‘जेल भित्रका सङ्घर्ष’ सार्वजनिक गरिएको हो।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिस्कर आन्दोलन नेपाली राजनीतिक इतिहासको एउटा निर्णायक मोड भएको उल्लेख गर्दै निरङ्कुश शासनविरुद्ध जीवन आहुति दिने शहीद र संघर्षशील योद्धाहरूको योगदान कहिल्यै मेटिन नसक्ने बताउनु भयो । उहाँले लोकतन्त्र सहजै प्राप्त नभई लामो त्याग, पीडा र बलिदानको परिणामस्वरूप स्थापित भएको स्मरण गराउनु भयो ।
कार्यक्रमका अर्का वक्ता अमृत बोहराले पिस्कर आन्दोलनले तत्कालीन समाजमा चेतनाको नयाँ लहर पैदा गरेको बताउँदै जनतामा अन्यायविरुद्ध उभिन सक्ने साहस र प्रतिरोधको भावना विकास गराएको धारणा व्यक्त गर्नु भयो । आजको लोकतान्त्रिक अवस्थासम्म आइपुग्न यस्ता आन्दोलनहरूले खेलेको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।
पुस्तकका लेखक सरेश नेपालले ‘जेल भित्रका सङ्घर्ष’ आफ्नै जीवनका अनुभव, भोगाइ र अनुभूतिमा आधारित रहेको स्पष्ट गर्दै यस कृतिलाई केवल संस्मरण मात्र नभई इतिहासको एउटा जीवन्त दस्तावेजका रूपमा लिन आग्रह गर्नु भयो । राजनीतिक आन्दोलनका क्रममा जेल जीवनले दिएको पीडा र त्यसभित्रको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको उहाँले बताउनु भयो ।
पुस्तकमाथि समीक्षात्मक धारणा प्रस्तुत गर्दै डा. देवी नेपालले ‘जेल भित्रका सङ्घर्ष’ पञ्चायती शासनकालमा राज्यले गरेको दमन, जेलभित्रको कठिन जीवन र राजनीतिक बन्दीहरूले भोग्नुपरेका संघर्षलाई सशक्त रूपमा उजागर गर्ने महत्त्वपूर्ण कृति भएको उल्लेख गर्दै यस्तो साहित्यले नयाँ पुस्तालाई इतिहास बुझ्न मद्दत पुर्याउने उहाँको निष्कर्ष थियो। सो कार्यक्रममा एमालेका नेता एवं पिस्कर काण्डमा जेल बसेका नेता मेघनाथ पौडेललाइ सम्मान तथा अविनन्दन गरेको थियो ।
कार्यक्रम नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको संयुक्त आयोजानामा भएको थियो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.