२ माघ २०८२, बिहिवार

नि:शुल्क स्वास्थ्य शिविरबाट १ हजार ८५ विद्यार्थी लाभान्वित

माघ १, चौतारा । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयहरूमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ जना विद्यार्थी लाभान्वित भएका छन्।

बागमती प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा सञ्चालन गरिएको नमुना कार्यक्रम अनुसार विद्यालयस्तरमा बालबालिकाहरूको श्रवण, दृष्टि (चस्मा वितरण सहित), दन्त परीक्षण, छाला रोग उपचार, रक्त समूह पहिचान तथा बाथ रोग/मुटु रोग (RHD) सम्बन्धी स्क्रीनिङ सेवा प्रदान गरिएको हो।

उक्त शिविरहरू पुष १३ गते जुगल गाउँपालिका–स्थित रत्नराज्य माध्यमिक विद्यालय, पुष १४ गते भिमसेन माध्यमिक विद्यालय, पुष २८ गते लिसंखुपाखर गाउँपालिकाको ककलिङ हरिसिद्धि माध्यमिक विद्यालय, पुष २९ गते बलेफी गाउँपालिका–स्थित बनसाँघु माध्यमिक विद्यालय तथा पुष ३० गते इन्द्रावती गाउँपालिका–स्थित ऐँसेलुखर्क माध्यमिक विद्यालयमा सम्पन्न भएका थिए।

विद्यालयगत विवरण अनुसार रत्नराज्य माध्यमिक विद्यालयमा १७५ छात्र र १४५ छात्रा, भिमसेन माध्यमिक विद्यालयमा ९९ छात्र र १०३ छात्रा, ककलिङ हरिसिद्धि माध्यमिक विद्यालयमा ४८ छात्र र ५२ छात्रा, बनसाँघु माध्यमिक विद्यालयमा ७३ छात्र र ६८ छात्रा तथा ऐँसेलुखर्क माध्यमिक विद्यालयमा १३२ छात्र र १९४ छात्रा गरी जम्मा १ हजार ८५ विद्यार्थीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको जनस्वास्थ्य कार्यालयकी स्टाफ नर्स प्रकृति केसीले जानकारी दिनुभयो। साथै शिविरबाट १५० जना स्थानीय बासिन्दाले पनि सेवा लिएका थिए।

बालबालिकाहरूको श्रवण, दृष्टि तथा दन्त स्वास्थ्य परीक्षण र उपचार व्यवस्थापन गर्नुका साथै भविष्यमा हुन सक्ने बाथ रोग तथा मुटु रोग (RHD) को समयमै पहिचान र व्यवस्थापन गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सकहरूको सहभागितामा शिविर आयोजना गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले बताउनुभयो।

दृष्टि परीक्षणपछि चस्मा आवश्यक पर्ने बालबालिकालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने स्क्रीनिङपछि थप उपचार आवश्यक देखिएका बिरामीलाई निःशुल्क उपचार व्यवस्थापनका लागि प्रादेशिक अस्पतालमा प्रेषण गरिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

शिविर सञ्चालनमा सम्बन्धित स्थानीय तहको समन्वयमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.