२ माघ २०८२, बिहिवार

सातधारा दुप्चेश्वर मेला सम्पन्न, धर्म–संस्कृतिको संरक्षणमा निरन्तरताको आवश्यकता

माघ १, मेलम्ची । मेलम्ची नगरपालिका–९ खड्काथोकस्थित सातधारा दुप्चेश्वर मेला सफलतापूर्वक सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङको प्रमुख आतिथ्यता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा मेला सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले धर्म र संस्कृति हाम्रो पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा ध्यान नदिए अस्तित्व नै संकटमा पर्न सक्ने बताउनुभयो। धार्मिक तथा सांस्कृतिक परम्पराहरूलाई पुस्तान्तरण गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले मेलम्ची नगरपालिका जिल्लाका अन्य पालिकाको तुलनामा स्रोत–साधनले सम्पन्न रहेको उल्लेख गर्दै ती स्रोतको व्यवस्थित उपयोग गर्न सके नगर आफैं विकासको मार्गमा अघि बढ्न सक्ने बताउनुभयो। जनप्रतिनिधिहरूको निरन्तर प्रयासका कारण मेलम्चीमा सकारात्मक परिवर्तन देखिन थालेको भन्दै प्रदेश सरकार नगरपालिकासँग सहकार्य र समन्वय गर्दै विकास निर्माणका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि झाँक्री अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। सम्मेलन आयोजना गरी समिति निर्माण गर्ने तथा नगरभित्रका झाँक्रीहरूलाई एकीकृत गर्दै ढ्याङ्ग्रो वितरणलगायत विषयमा छलफल गरिने उहाँले बताउनुभयो। साथै नगरभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास र प्रवर्द्धन गर्ने योजना अघि सार्नुभयो।

नगरप्रमुख तामाङले परम्परागत पर्वहरूलाई सम्मानजनक रूपमा मनाउने व्यवस्था मिलाइने र धर्मसँग जोडिएका गतिविधिहरूलाई निरन्तरता दिइने बताउनुभयो। स्थानीय मेला तथा पर्वहरूको संरक्षण र विकास गर्दै लैजाने नीति रहेको पनि उहाँको भनाइ छ।

श्री सातधारा दुप्चेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिको आयोजनामा हरेक वर्ष माघ १ गते माघे संक्रान्तिको अवसरमा उक्त स्थानमा मेला लाग्ने गरेको छ। यस वर्षको मेलामा विभिन्न स्थानका झाँक्री बम्बोहरूको सामूहिक मन्दिर दर्शन, पूजाआजा तथा ध्यान कार्यक्रम सम्पन्न भएको थियो।

मन्दिर विकास तथा संरक्षण समितिका अध्यक्ष कमलबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूले विविध सांगीतिक प्रस्तुति दिएर मेलामा सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.