२ माघ २०८२, बिहिवार

मेलम्ची नगरपालिकाको १९औँ नगरसभा, प्रस्तावहरु सर्वसम्मत पारित

माघ १, मेलम्ची । मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनले नगरको समग्र विकास, सुशासन र वित्तीय अनुशासनलाई थप मजबुत बनाउने उद्देश्यका साथ विभिन्न ऐन संशोधन गर्दै १४ वटा महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको हो।

सभामा आर्थिक विकास समितिका संयोजक किरण दीप खड्काले पेस गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५ को प्रतिस्थापन विधेयक २०८२ र मेलम्ची नगरपालिकाको विज्ञापन (व्यवस्थापन तथा नियमन) सम्बन्धी विधेयक २०८२ सर्वसम्मत पारित गरिएको थियो। त्यसैगरी, उपप्रमुख उमा प्रधानले पेस गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन ऐन संशोधन विधेयक २०८२ पनि नगरसभाले अनुमोदन गरेको छ।

सभामा लेखा समिति संयोजक कृष्णमुरारी चौलागाईले पेस गर्नुभएको लेखा समितिको प्रतिवेदनसमेत पारित गरिएको नगरपालिकाले जनाएको छ। अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख आइतमान तामाङले नगरपालिकाको दिगो विकास, पारदर्शिता, सुशासन र नागरिकमैत्री सेवा प्रवाह आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो। नगरसभाबाट पारित ऐन तथा प्रस्तावहरूले नगरको आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

उहाँले नगरको समग्र समृद्धिका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षको सक्रिय सहभागिताको अपेक्षा गर्नुभयो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.