सविता न्यौपाने
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज बाट २१ गते सम्म बिपी राजमार्गमा निजी तथा सार्वजनिक यात्रुबाहक संचालनमा निषेध गरेको छ । मौसमको कारण यात्रुहरुलाइ असुरक्षा हुने भनेर आज १६ गते बिहीबार देखि २१ गतेसम्म बेलुका ५ बजे देखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक यात्रु सबारी साधन संचालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले जारी गरेको प्रेस बिज्ञप्तिमा "विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति २०८२ असोज १५ गते प्रकाशित उच्च सतर्कताका लागि अनुरोध गरिएको सूचना बमोजिम असोज १७ गतेदेखि २० गतेसम्म यस जिल्लामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बाढी पहिरोको उच्च जोखिममा रहेको देखिएकाले देहाय अनुसार गर्ने गराउन सम्बन्धित कार्यालयहरु, संस्थाहरु एवं जिल्लावासी सबैमा अनुरोध गर्दछौ ।
क) वर्षात र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन २०८२ असोज १६ गते बिहीबार देखि असोज २१ गते मंगलबारसम्म साँझ ०५:०० बजेदेखि विहान ०५:०० बजे सम्म वि.पी. राजमार्गको काभ्रे भञ्ज्याङ्ग-भकुण्डेवेशी-सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ। साथै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्वानमा सवारी साधनहरु रोक्न सक्नेछ ।
ख) उन्लेखित अवधिमा अत्यन्त जरूरी नभईकन बाहिर नजाने, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्ने ।
ग) पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने । विशेष स्थानीय तहहरुले स्वीकृत मनसुन कार्ययोजना अनुरुप आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्ने गराउने ।
घ) डुबान हुने सक्ने बस्तीहरूलाई सुरक्षित क्षेत्र (अस्थायी) र सुरक्षित स्थानबारे जानकारी लिने र आवश्यक पर्दा गाँउपालिका/नगरपालिका द्वारा यस अधी निर्धारित सुरक्षित स्थानमा जाने ।
ङ) जिल्ला स्थित सुरक्षा निकायहरु, स्थानीय तहहरु, स्वयम्सेवक लगायत सरोकारवाला सबै निकाय स्वीकृत प्रतिकार्य योजना अनुरुप तयारी अवस्थामा रहने ।
च) वि.पी. र अरनिको राजमार्ग आयोजनाहरु (सडक डिभिजन भक्तपुर र सूर्यविनायक धुलिखेल सडक आयोजना) ले सडकहरूमा तुरुन्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राखे ।
छ) पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने ।
ज) स्थानीय विपद व्यवस्थापन समितिहरु र विपद् व्यवस्थापन समितिका क्लष्टर लिड र क्लष्टर को लिडहरुले स्वीकृत प्रतिकार्य योजना अनुरुप तयारी अवस्थामा रहने" भनिएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.