कृजल नेपाल
काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने भएको छ । यहि वर्षको फागुन २१ गते गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि मतदाता नामावली संकलन गर्न लागेको हो । आयोगले एक प्रेस बिज्ञप्ति जारी गरेर बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म जिल्ला निर्वाचन कार्यालय तथा प्रदेश निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने भनेको छ । आयोगद्वारा जारी प्रेस बिज्ञप्तिमा "संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य आयोगको निर्णय अनुसार मिति २०८२/७/३० गतेसम्म पुनः सञ्चालन हुने भएको छ। यस कार्यक्रम अन्तर्गत यस पूर्व मतदाता नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकहरूले सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि बेलुकी ६:०० बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सकिने गरी व्यवस्था गरिएको छ। आयोगको वेवसाइट www.election.gov.np मा प्रि-रजिष्ट्रेशन प्रणाली (applyvr.election.gov.np) वाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक (Biometric) विवरण उपलब्ध गराउनुपर्नेछ।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा कानून बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने समेत व्यवस्था मिलाइएको हुँदा मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकलाई नाम दर्ता एवं विवरण अद्यावधिक गरी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ" भनिएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.