७ भदौ २०८२, शनिवार

कपुत- कथा

शान्ति नेउपाने, काठमाडौं । आज कुशे औंशी। राजन शर्माले बिहानै उठेर नुवाइधुवाइ गरे। चिया अरनी खाइवरी गरेर बि यम डब्लु कार निकाले। शर्माणीलाई हिॅड भनेको मानिनन्। राजन कार लिएर एक्लै निस्के। फलफूल पसलमा गएर एक किलो स्याउ र एक दर्जन केरा लिए। दसमिनेटजति किचकिच गरेर बिस रुपैयॅा घटाएर पैसा तिरे। उनि सरासर बाउलाई भेट्न बाउ बस्दै आएको घरतिर गए।

गेट खोलेर भित्र पसे। बाउको कोठामा ताला लगाएको रहेछ। उनी एकछिन अलमलिए। फोन गरेको स्वीचअफ रहेछ। अर्को कोठामा बस्ने मान्छेलाई सोधे। ति मान्छेले- हजुर राजन शर्मा हो? भनेर सोधे। उनले हो भनेपछि ति मान्छेले यौटा खाम ल्याएर हातमा राखिदिदै भने- मेरो छोरो राजन शर्मा औंशीको दिन आउन सक्छ। आएछभने यो खाम दिनु भन्नुभएको थियो। यति भनेर उनी कोठामा छिरे। राजन् खाम बोकेर कारमा आएर बसे र खाम खोलेर हेरे। यौटा लामो पत्र रहेछ। उनले सर्सर्ती पढे। चिठीको सार यस्तो थियो।

छोरा राजन्, शुभाशिष! मलाई थाहा छ तँ आज एक किलो स्याउ र एक दर्जन केरा बोकेर आउॅछस् भनेर। बुहारी धनीमानीको छोरी हुनाले आउॅदिन। तैंले मलाई भेट्ने भनेको वर्षको दुईदिन हो। त्यसैले मलाई तेरो मुख हेर्न मन लागेन र हामी दुबैजना घुम्न निस्कियौं। अबदेखि दशैंको एक दिन पनि नआउनु। मलाई तेरो मुख हेरेर अगती पर्नु छैन। पुर्खाहरुले भन्थे सन्तानको मुख नहेरी मर्ने मान्छे अगती तर म सन्तानको मुख हेर्दा अगती पर्ने भएं। चाणक्यले ठिकै भनेकारहेछन्- कुगाउॅको वा कुठाउॅको बास, दुष्ट वा नीच व्यक्तिको सेवा, संधै कचकच गरिरहने स्वास्नी, खराब घटिया भोजन्, विधुवा छोरी, कपुत छोरा जसका हुन्छन् उसले नमरीकन जिउॅदै जलिरहनुपर्छ। पटकपटक मरिरहनु पर्छ, छातीमा आगोको लाभा लिएर बॅाच्नुपर्छ। तॅ पनि कपुत भएर निस्किइस्। मलाई र आमालाई धेरै रुवाइस्। बिचार गर यसको परिणाम पनि गतिलो हॅुदैन।

तॅ सानोमा कति बिग्याहा थिइस्। कतिवटा चरेसका थाल कतिवटा ढलौटका कचौरा फुटाइस्। हामीले केटाकेटीको जात यस्तै हो भनेर गाली पनि गरेनौं। तॅ ओछ्यान् मुतुवा थिइस्। रातको तिनपल्टसम्म ओछ्यान् भिजाउॅथिस्। तॅलाई तातोमा सुताएर हामी तैंले चिसो पारेको ठाउॅमा सुत्थ्यौं। हजारौंपल्ट काखमा दिसा पिसाब गरिस् हामीले घिन नमानी सफा गर्यौं। तेरा हरेक मागहरुलाई सकिनसकि पुरा गर्यौं। महंगो स्कुलमा पढायौं। शहरीया धनीमानीकी छोरी मन पराइस्। तैले भने बमोजिमसंग धुमधाम खर्च गरेर बिहे गरिदियौं। तॅलाई थाहा छ? तेरो बिहेको लागि अहिले आनाको पचास लाख जाने डेड रोपनी जग्गा बेच्नु परेको थियो। तॅलाई अपुतालीमा पाएको ससुराली घरमा हामी अटाउन सकेनौ। हामी अनपढ गॅवार फोहोरी पाखे भयौं। हामी साथमा हॅुदा तेरो र तेरो स्वास्नीको इज्जत जाने भयो। कुकुरलाई राख्न तेरो घरमा कोठा भयो तर हामीलाई बस्नको  लागि यौटा कोठा भएन। तॅलाई थाहै छ तॅलाई पढाउन पॅाच रोपनी गलखेत बेचेको कुरा। तैंले किताब पढिछस् तर जीवन पढिनछस्। ज्ञान आएछ विवेक हराएछ। सम्पत्ती कमाइस् नैतिकता गुमाइस्। कार्यालयको हाकिम भइस् स्वास्नीको नोकर भइस्। तेरो आफ्नो भन्नु रक्सी बाहेक केहि रहेन।तॅलाई राम बनाउन खोजेको थिएं तर तॅ हराम भएर निस्किस्। भर्सेला परोस तेरो पढाइ।उतिखेर सोचेको थिएं हाम्रो सर्वस्व भनेको तैं होस्। यो सारा संपती तेरै हो। अहिले सोच्दैछु म नै गलत रहेछु।तॅलाई पढाएर ठुलै गल्ती गरेछु। शिक्षा त दिएं तर संस्कार दिन सकेनछु। संस्कार बिनाको शिक्षा नुनतेल बिनाको तरकारी जस्तै हॅुदोरहेछ।यदि मैले तॅलाई त्यति दुख गरेर नपढाएको भए आज हामी बाउ आमा यति धेरै हेलॅा हुनु पर्दैनथ्यो। हामीले अनपढ पाखे गॅवारको फेटा गुथ्नु पनि पर्दैनथ्यो। तेरी आमा गोज्यांग्री भई। तॅ बिरामी भएको, तॅलाई टाउको दुख्यो कि पेट दुख्यो भनेर तेरो अनुहार हेरेर चाल पाउॅथी, तॅलाई भोक लागेको कुरा तैंले नभनीकन चाल पाउॅथी। कतिखेर के खुवाउनुपर्छ सबै थाहा थियो त्यो अनपढ गोज्यांग्रीलाई। त्यहि गोज्यांग्रीले छातीमा टॅासेर दूध नख्वाएको भए तॅ आजसम्ममा के के जुनी फेरिसक्थिस्। केहि महिना अघि उ बिरामी भएर एकहप्ता अस्पताल बस्दा तॅलाई संझेर रोई तर तॅ चाल पाएर पनि भेट्नसम्म आइनस्। तॅसंग बिरामी आमा भेट्नलाई समय भएन वा ठुलो मान्छे भएकोले लाज भयो यी पाखेहरुलाई भेट्न।घर आएपछि तेरो मुख नहेर्ने कसम खाएकिछे। त्यसैले आज तेरो मुख हेर्नु पर्ला भनेर हामी बाटो लाग्यौं। दशैंमा पनि नआउनु हामी हॅुदैनौ। हामी मर्दा दागबत्ती दिन पनि नआउनु।श्राद्द किरिया पनि नगर्नु किनकि श्रद्दा बिनाको श्राद्द गर्नुको कुनै अर्थ छैन। जिउॅदो हॅुदा तातोपानी नदिनेले मरेपछि पिण्डपानी दिनु पर्दैन।कपुतले दिएको कुनै पनि चिज पित्रीलाई स्वीकार हुने छैन। यदि मैले समयमै आफ्नो नियमित कमाईको स्रोत नबनाएको भए र तैले भनेको मानेर यो घर पनि बेचेको भए अहिले हाम्रो पाटीको बास हुनेरहेछ। त्यसैले बचेखुचेको सम्पती घर जग्गा सबै शेषपछि बृद्दाश्रमको हकमा जानेगरी लिखितम गरिदियौं। हामीले भोगेको नियति तैंले भोगेको देख्न नपरोस भन्ने कामना सहित

   अभागी बाउ चिट्ठी पढीसकेपछि उ खत्रक्क पर्यो। गाडी चलाउन तागत आएन। उसले आफ्नो बाल्यकाल संझ्यो, आमाबाउसंगको साथ संझ्यो। जवानी संझ्यो। अहिलेको अवस्था संझ्यो। आफुले गरेका थुप्रै गल्तीहरु संझ्यो। पस्चातापले जिउ भतभती पोल्यो। बाउआमासंग गएर माफी मागौं कि जस्तो लाग्यो तर उ भित्रको अहंकारले त्यसो गर्न पनि दिएन। एक बोतल पानी घटघट पियो। बिस्तारै गाडी चलाएर घर फर्कियो। उ भित्र पस्चाताप र अहंकार बिच युद्द चलिरह्यो चलिरह्यो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.